सचिव भट्टराईले ‘बदलिएका आवश्यकता र अपेक्षाहरु पूरा गर्न सफल नभएकामा माफी चाहन्छौं’ समेत भनेका छन् ।
काठमाडौँ — एमाले सचिव योगेश भट्टराईले पार्टी र नेतृत्व पुनर्गठनको माग अघि सारेका छन् । युवा पुस्ताको मागअनुसार पार्टी र नेतृत्व पुनर्गठन हुनुपर्ने उनको भनाइ छ ।
शुक्रबार एक अपिल जारी गर्दै भट्टराईले पार्टी र नेतृत्व पुनर्गठनको पक्षमा खुलेर बोलेका हुन् । उनले भनेका छन्, 'ग्राम्सीले भने जस्तै अब नेकपा (एमाले) लाई, कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ ।'
पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा इतिहासको बेवास्ता र अपमान कदापि गर्नु हुन्न भन्दै उनले उल्लेख गरेका छन्, 'पार्टीका नेताहरु जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं–हामी पनि उहाँहरुसँगै थियौं । यो जस–अपजसको भागीदार हामी पनि हौं । त्यसैले म यो बेला भन्छु उहाँहरुको सम्मान सहित पुनर्गठन ।’
२०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले संविधान र लोकतान्त्रिक प्रणालीमाथि ‘कू’ गर्दा पनि समाज र पार्टीमा आजको जत्तिकै सन्नाटा छाएको भट्टराईले स्मरण गरेका छन् । 'त्यसबेला पार्टीकै युवा पुस्ताले अग्रसरता लिएर पार्टी पुनर्गठनको बहस चलायो । अन्ततः नेकपा (एमाले) को नवौं महाधिवेशनले पार्टी पुर्नगठनको एजेन्डा स्वीकार गर्यो । पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रुपमा स्थापित गर्यो । पार्टी बच्यो, आन्दोलन सफल भयो । नेतृत्वको सम्मान पुनस्थापित भयो । पार्टीमा नयाँ पुस्ताको प्रभावशाली प्रवेश भयो । हामी सबैले त्यो क्षणलाई पुन स्मरण गरौं,' उनले भनेका छन् ।
भदौ २३ मा सामाजिक सञ्जाल बन्दको विरोध र सुशासनको माग राखेर सडकमा उत्रिएका जेन–जीमाथि भएको बर्बर दमन र २४ गते शृंखलाबद्ध र संगठित घुसपैठ गरिकामा सत्यतथ्य छानबिन हुनुपर्ने उनको माग छ । सचिव भट्टराईले ‘बदलिएका आवश्यकता र अपेक्षाहरु पूरा गर्न सफल नभएकामा माफी चाहन्छौं’ समेत भनेका छन् ।
