निर्वाचनको मिति घोषणा भइसकेकाले दलहरूले निर्वाचन अनुकूल कार्यक्रम बनाउन केन्द्रदेखि स्थानीय समितिसम्म छलफल सुरु गरेका छन् । त्यस्तै नेताहरूले आ-आफ्नो निर्वाचन क्षेत्रमा आगामी निर्वाचनको रणनीतिबारे गृहकार्य गर्न थालेका छन् ।
काठमाडौँ — जेन-जी आन्दोलनको बलमा प्रतिनिधिसभा विघटन भई घोषणा भाएको निर्वाचनमा जान राजनीतिक दलहरूले आन्तरिक छलफल सुरु गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा फागुन २१ मा निर्वाचन घोषणा गरेपछि दलहरू आन्तरिक तयारीमा जुटेका हुन् । पार्टीभित्र र बाहिर निर्वाचनका लागि वातावरण बनाउन दबाबसमेत आउन थालेको छ ।
प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादीले आलोपालो नेतृत्व गरेका सरकारले भ्रष्टाचार, सुशासनलगायतका आम मानिसका चाहना सम्बोधन गर्न नसकेपछि जेन-जी आन्दोलनका बलमा प्रतिनिधिसभा विघटन भएको छ ।
प्रतिनिधिसभामा रहेका आठ दलले संसद् विघटन असंवैधानिक भएको दाबी गरे पनि निर्वाचनको मिति घोषणा भइसकेकाले दलहरूले निर्वाचन अनुकूल कार्यक्रम बनाउन केन्द्रदेखि स्थानीय समितिसम्म छलफल सुरु गरेका छन् । त्यस्तै नेताहरूले आ-आफ्नो निर्वाचन क्षेत्रमा आगामी निर्वाचनको रणनीतिबारे गृहकार्य गर्न थालेका छन् ।
कांग्रेस केन्द्रीय कार्य समितिको शुक्रबार भएको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनको बलमा संसद् विघटन भई विशिष्टि परिस्थिति उत्पन्न भएकाले पार्टी निर्वाचनमा होमिनपर्ने धारणा राखेका छन् । सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले संसद् पुन:स्थापना गर्नुपर्ने धारणा राखे पनि थापा र शर्माले जेन-जी आन्दोलनको भवनाअनुसार घोषित मितिमै निर्वाचनमा जानुपर्ने बताएका थिए ।
‘जेन-जी आन्दोलनपछि विशिष्ट परिस्थितिमा अन्तरिम सरकार बनेको छ । अब निर्वाचनको प्रक्रियामा गएर नै ताजा जनादेशसहित संसद् ल्याउन सकिन्छ । अहिले फरक राजनीतिक चुनौती उत्पन्न भएको छ । ‘यो बेलामा दायाँबायाँ होइन, निर्वाचनलाई प्रमुख उद्देश्य बनाउनुपर्छ,’ थापा र शर्माको भनाइ थियो, ‘राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको अवस्था छ । राष्ट्रिय सभा, प्रदेशसभा र स्थानीय निकायमा जनप्रतिनिधि कायम छन् । अब कांग्रेसले निर्वाचनमा सबैलाई लिएर जाने वातावरण बनाउनुपर्छ ।’
कांग्रेसमा महामन्त्रीद्वय थापा र शर्माले जेन-जी आन्दोलनको भावनाअनुसार पनि निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले निर्वाचनमा गएर ताजा प्रतिनिधिसभा बनाउन उचित हुने बताएका छन् । ‘अब ताजा प्रतिनिधिसभाका लागि फागुन २१ को निर्वाचनमा जानुपर्छ,’ महामन्त्री शर्माले भने, ‘निर्वाचनमा जान दलहरूले साथ र सजगताका साथ दबाब दिनुपर्छ ।’ उनले निर्वाचन सम्पन्न गराउने विषयमा दलहरूबीच छलफल सुरु गर्नुपर्ने बताए । ‘अहिलेको अवस्थामा निर्वाचनको वातावरण बनाउन अरु दलहरूसँग पनि छलफल गर्नुपर्छ,’ उनले भने ।
जेन-जी आन्दोलनले विस्थापित पछिल्लो सरकारको नेतृत्व गरेको एमालेभित्र पनि प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिको समीक्षा सुरु भएको छ । राष्ट्रपतिबाट निर्वाचन घोषणा भइसकेकाले त्यही दिशामा अघि बढ्न एमालेलाई पनि दबाब छ ।
एमालेभित्र निर्वाचनलाई मिसन बनाएर अघि बढ्नुपर्ने पक्षमा नेताहरू खुल्न थालेका छन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन निष्पक्ष, पारदर्शी, भयरहित वातावरण बनाउनुपर्ने उल्लेख गर्दै लोकतन्त्र, राष्ट्रियता, संघीयता बलियो बनाउनु निर्वाचनमा जान उचित हुने बताइन् ।
‘प्रतिनिधिसभा विघटन भएपछि अप्ठ्यारो परिस्थिति उत्पन्न भएको छ । सरकारले अप्ठ्यारो अवस्थालाई सहज बनाएर निर्वाचनको वातावरण बनाउनुपर्छ,’ उनले भनिन्, ‘पार्टीहरूसँग चुनावमा जानुबाहेक अरु उपाय छैन । चुनाव होला कि नहोला भन्ने आशंका मेटाउनुपर्छ ।’
पूर्वकानुनमन्त्रीसमेत रहेका एमाले नेता पदम गिरीले जेन-जी आन्दोलनपछि विशिष्ट परिस्थितिमा सरकार बनेकाले विवाद र अलमलमा नपरी पार्टीहरू निर्वाचनमा जानुपर्ने बताए । ‘अहिले विशिष्ट परिस्थितिम सरकार बनेको छ । निर्वाचनबारे विवाद र अलमल गर्नुभन्दा जनतामा जानु उचित हुन्छ । ताजा जनादेश लिएर संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न सकिन्छ,’ उनले भने, ‘त्यहीअनुसार पार्टीले निर्वाचनको वातावरण बनाउनुपर्छ ।’ तर पछिल्लो राजनीतिक घटनाको गहिरो समीक्षा गरी निर्वाचनमा हुने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
माओवादीले पनि निर्वाचनको लागि तयारी गर्न तल्ला समितिहरुलाई निर्देशन दिइसकेको छ । अध्यक्ष पुष्पकमल दाहालले प्रदेश इन्चार्जहरूलाई निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेका छन् । निर्वाचनमा जानुको विकल्प नभएको भन्दै उनले स्थानीय स्तरमै निर्वाचनका कार्यक्रम बनाउन बिहीबार नै निर्देशन दिएका हुन् ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तोकिएकै समयमा प्रतिनिधिसभाको निर्वाचन गराउन सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् । उनले जेन-जी आन्दोलनका उपलब्धिलाई तुहाउने षडयन्त्र चिर्नुपर्ने बताए । ‘जेन-जी आन्दोलनको सफलतालाई देश र जनताको हितमा पूर्ण उपलब्धिमूलक बनाउने दिशामा जानुको सट्टा त्यसलाई तुहाउने वा नेपाल र नेपाली जनताविरोधी कुनै रणनीतिक स्वार्थको सेवामा यसलाई प्रयोग गर्ने षड्यन्त्र सफल हुन नपाओस्,’ उनले भने, ‘यस सन्दर्भमा यतिबेला घोषित मितिमा आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु नै राष्ट्रको तात्कालिक केन्द्रीय कार्यभार हो ।’ उनले संविधानको रक्षा गर्दै राष्ट्रियता, गणतन्त्र, संघीयता बलियो बनाउन निर्वाचन सम्पन्न हुनुपर्ने बताए ।
शुक्रबार संविधान दिवसमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष दाहालले माओवादी निर्वाचनमा जाने कुरामा द्विविधा नभएको स्पष्ट गरे । ‘अब निर्वाचन ६ महिनापछि घोषणा गरिएको छ । त्यो घोषित मितिमा नै निर्वाचन होस् र देशले फेरि एउटा नयाँ निकास प्राप्त गरोस्। र त्यसबाट जेन-जी आन्दोलनको भावनाअनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने बाटो फेरि संवैधानिक रूपमा नै खुलोस् भन्ने हाम्रो चाहना छ,’ उनले भने, ‘त्यसकारण हामी अब कुनै द्विविधामा, भ्रममा नपरी यो निर्वाचन सम्पन्न गर्नका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने ठाउँमा आइपुगेका छौं ।’
नेकपा एकीकृत समाजवादीको बिहीबार बसेको सचिवालय बैठकले पनि निर्वाचन जाने निर्णय गरेको छ । उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले सरकारले तोकिएको समयमा निष्पक्ष, धाँधलीरहीत, शान्तिपूर्ण निर्वाचन गराउन आग्रह गर्दै यस्तो वातावरण बनाउनुपर्ने बताए । ‘अहिलेको हाम्रो कार्यनीति निर्वाचनमा जाने हो । सचिवालयले निर्वाचनको तयारी गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘हामी त्यहीअनुसार पार्टीका कार्यक्रम बनाउने तयारी गरेका छौँ ।’ उनले अरु दलहरूले पनि चुनावका जाने वातावरण बनाउन आफ्नो पार्टीले अपिल गरेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, जनमत पार्टीले पनि घोषित मितिमा निर्वाचनमा होमिनेबारे आन्तरिक छलफलमा जुटेका छन् ।
