चुनावी तयारीमा लाग्न तल्ला समितिलाई माओवादीको निर्देशन

‘चुनाव घोषणा भइसकेको अवस्थामा चुनावमा जानुको विकल्प छैन,’ दाहालको निर्देशन छ, ‘अब हामी चुनावमा केन्द्रित हुन संगठन परिचालन गर्नुहोला ।’

आश्विन १, २०८२

कान्तिपुर संवाददाता

Maoist instructions to floor committee to start election preparations

What you should know

काठमाडौँ — माओवादी  अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनको तयारीमा लाग्न तल्लो समितिलाई निर्देशन दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन २१ मा निर्वाचनको घोषणा गरेपछि माओवादीले चुनावी तयारीमा लाग्न निर्देशन दिएको हो ।

उसले चुनावमा जान औपचारिक निर्णय नगरे पनि अध्यक्ष दाहालले सातै प्रदेशका इन्चार्ज, प्रदेश अध्यक्षहरूलाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन् । ‘चुनाव घोषणा भइसकेको अवस्थामा चुनावमा जानुको विकल्प छैन,’ दाहालको निर्देशन छ, ‘अब हामी चुनावमा केन्द्रित हुन संगठन परिचालन गर्नुहोला ।’ 

जेन-जी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनलाई आत्मसाथ गदै चुनावी तयारी गर्नुपर्ने उनको भनाइ छ । बदलिँदो परिस्थितिलाई आत्मसाथ गरी संगठन सुदृढीकरण गर्दै कांग्रेस एमाले गठबन्धन सरकारले निम्त्याएको राजनीतिक संकटको पार लगाउन चुनाव नै विकल्प रहेको माओवादीको भनाइ छ । चुनावलाई सफल बनामएर मात्र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने भन्दै उसले चुनावी तयारीका लागि गृहकार्य सुरु गरेको हो ।

अब बस्ने पार्टी केन्द्रीय पदाधिकारी बैठकले चुनावमा जानेबारे औपचारिक निर्णय गर्ने छ । ‘चुनाव घोषणा भइसकेको अवस्थामा तयारी थाल्ने कुरा भएको छ,’ सचिव देवेन्द्र पौडेलले भने ।

आठ दलसँग विघटित संसद् पुन:स्थापना हुनुपर्ने माग गरे पनि माओवादीले अब चुनावमा जानुको विकल्प नभएको अनौपचारिक निष्कर्ष निकालेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, सचिव राम कार्कीले चुनावी सरकारलाई सघाउने बताइसकेका छन् । तर उनीहरूले चुनावमा जाने वातावरण बनाउन अन्तरिम सरकारलाई आग्रह गरेका छन् ।

माओवादीले मध्यपहाडी राजमार्ग अभियान भइरहेका बेला जेन-जी विद्रोह भएपछि स्थगित गरेको छ । अध्यक्ष दाहालसहित नेताहरू दैनिक राजनीतिक गतिविधिमा सक्रिय भइसकेका छन् ।

कान्तिपुर

Link copied successfully