निष्पक्ष निर्वाचन र संविधानको रक्षा नै अहिलेको मुख्य जिम्मेवारी : महामन्त्री थापा

'जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्वचयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ,' थापाको अपिल छ।

भाद्र ३०, २०८२

कान्तिपुर संवाददाता

Protecting fair elections and the constitution is the main responsibility now: Chief Minister Thapa

What you should know

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको अवस्थामा निष्पक्ष निर्वाचन र संविधानको रक्षा नै सबैको मुख्य जिम्मेवारी भएको बताएका छन्। उनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकार कहीँ कतै अलमलिनु नहुने बताए।

सोमबार सामाजिक सञ्जालमार्फत् अपिल सार्वजनिक गर्दै महामन्त्री थापाले सरकारले भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न हुने वातावरण सुनिश्चित गर्नुपर्ने बताए। 

'आन्दोलनपश्चात आज जुन राजनीतिक परिस्थिति सिर्जना भएको छ, यो आजको वास्तविकता हो, यसलाई स्वीकार गरौं ।अन्तरिम सरकार गठन भइसकेको छ, निर्वाचनको मिति घोषणा भएको छ। एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकोले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔं, यसको निमित्त निर्बाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौँ,' कांग्रेस नेता कार्यकर्ताहरूलाई आग्रह गर्दै उनले भनेका छन्, 'कहीँ कतै यो मूल जिम्मेवारीबाट सरकार विचलित भयो वा अलमलियो भने खबरदारी गरौं। भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्याकमा ल्याउने आज को मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ, यो कुरा नविर्सौं।'

जेन-जी युवाहरूको दुई दिनको आन्दोलनले देशलाई नयाँ राजनीतिक परिस्थितिमा पुर्‍याएको भन्दै थापाले कांग्रेसले अब नयाँ ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए। 'प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा, प्रदेश सभार स्थानीय सरकार कायम छन् । संविधानका आधारभूत मूल्य र लोकतान्त्रिक संस्थालाई जोगाउन सचेत खबरदारी गर्नु नै हाम्रो मूल जिम्मेवारी हो,' थापाको भनाइ छ। 

उनले जेन-जी आन्दोलनका क्रममा राज्यबाट भएको दमन र अर्को दिन भएको विध्वंश र आगजनीको वास्तविक क्षति संकलन गरी दोषीलाई दण्डित गर्नुपर्ने बताएका छन्। 

अब पार्टी पुनर्गठन अनिवार्य आवश्यकता बनेको उनको भनाइ छ। 'संविधान दिवसकै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौं। जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्वचयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ,' उनले भनेका छन्। 

कान्तिपुर

Link copied successfully