दलहरू निर्वाचनमा जान ‘तयार’

स्वच्छ वातावरणमा निर्वाचन भए भाग लिने दलका नेताहरुको भनाइ, पार्टी निर्णय बाँकी

भाद्र ३०, २०८२

गंगा बीसी

Parties 'ready' to go to polls

What you should know

काठमाडौं — प्रतिनिधिसभा विघटनपछि आन्तरिक छलफलमा रहेका दलहरूले निष्पक्ष, स्वतन्त्र, भयरहीत वातावरण भए जनादेशका लागि जान तयार रहेको बताएका छन् । उनीहरूले घोषित समयमा निर्वाचन हुनुपर्नेमा पनि जोड दिएका छन् । तर यस विषयमा पार्टीबाट निर्णय गर्न भने बाँकी छ । 

प्रतिनिधिसभा विघटनको विषयलाई लिएर पछिल्लो समय कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादीलगायत आठ दल एक ठाउँमा उभिएका छन् । उनीहरूले संसद् विघटनलाई संविधानविपरीत भन्दै आएका छन् ।

अन्तरिम सरकारको प्रधानमन्त्रीमा शुक्रबार नियुक्ति भएलगत्तै सुशीला कार्कीले संसद् विघटन र निर्वाचनको मिति सिफारिस गरेकी थिइन् । त्यहीअनुसार आगामी २१ फागुनलाई प्रतिनिधिसभा निर्वाचन तोकिएको छ ।  

कांग्रेस नेता अर्जुननरसिंह केसीले इतिहास बोकेका दलहरू निर्वाचनमा गएर लोकतन्त्र र जनताको सर्वोच्चतालाई बलियो बनाउन तयार हुनुपर्ने बताए । ‘अन्तरिम सरकारले छ महिनाभित्र निर्वाचन हुने विश्वसनीय वातावरण बनाउनु पहिलो काम हो । दलहरूले चुनावमा भाग लिएर नेपाली जनताको सर्वोच्चता फिर्ता गर्नुपर्छ,’ उनले भने, ‘निष्पक्ष चुनाव हुने भए दलहरू सहभागी हुन्छन् । आफ्नो जनादेश परीक्षण गर्छन् ।’

कांग्रेसलगायत दलहरू विगतमा आफूबाट भएका गल्तीप्रति माफी माग्दै जनतामा जानुको विकल्प नभएको केसी बताउँछन् । ‘दलहरू जनतामा जान डराउनु हुँदैन । निर्वाचनबाटै संविधानलाई सही बाटामा अघि बढाउन सकिन्छ,’ उनले भने, ‘दलहरूले चुनावमा जोड दिनुपर्छ । आवधिक निर्वाचनले नै लोकतन्त्र बलियो बनाउन सक्छ ।’

नेता केसीले सिंगै लोकतन्त्र र संविधानवाद रक्षा गर्ने चुनौती अहिले आएको बताए । प्रधानमन्त्री कार्कीलाई संविधान र लोकतन्त्रकै रक्षाका लागि काम गर्न उनले सुझाव दिए । 

निवर्तमान सरकारको नेतृत्व गरेको एमाले पनि चुनावमा जान तयार छ तर उसले निष्पक्ष निर्वाचन हुनेमा आशंका गरिरहेको छ । प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतको नजिरविपरीत भएको एमालेको निष्कर्ष छ । 

संविधान र लोकतन्त्र रक्षाका लागि चुनाव अपरिहार्य भए पनि अन्तरिम सरकारले निष्पक्ष चुनावको वातावरण बनाउनेमा आशंका रहेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ‘चुनाव हुने परिस्थिति भयो भने दलहरूले भाग लिन्छन् । चुनावबाट धेरै कुराको छिनोफानो हुन्छ,’ उनले भने, ‘चुनाव हुने स्थितिमा मुलुक जान्छ कि जाँदैन भन्नेमा आशंका छ । मतदाता निर्भय भएनन् भने चुनावको अर्थ रहँदैन । दलहरूले निर्भयतापूर्वक चुनावमा भाग लिने अवस्था हुन्छ कि हुँदैन ?’

राज्यका सबै संरचना ध्वस्त भएको अवस्थामा अन्तरिम सरकारले प्रमुख ध्यान निष्पक्ष र स्वतन्त्र च्नुाव गराउनमा हुनुपर्ने उनको भनाइ छ । 

एमाले सचिव गोकर्ण विष्टले तोकिएकै समयमा चुनाव गराउन दलहरूले दबाब दिनुपर्ने बताए । ‘सरकारले पनि दलहरूले भाग लिने सहज वातावरण बनाउन सक्नुपर्छ,’ उनले भने । 

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको मूल मुद्दा नै घोषित मितिमै आम निर्वाचन सम्पन्न गर्नु रहेको बताए । ‘हाम्रो सम्पूर्ण ध्यान समयमै निर्वाचन गराउन हुनुपर्छ । निर्वाचनमा जान पूरै जोड दिनुपर्छ,’ उनले भने, ‘यसरी मात्र संविधान र लोकतन्त्रको रक्षा गर्न सकिन्छ ।’ माओवादीभित्र चुनावमा जाने विषयमा दुई मत नभएको उनको भनाइ छ । ‘राष्ट्रपतिले संविधानको धारा ६१ टेकेर चुनाव घोषणा गरेकाले भाग नलिने कुरा हुँदैन,’ उनले थपे, ‘आजको सही बाटो यही हो । यसमा पार्टी स्पष्ट छ ।’

२३ भदौको जेन–जी आन्दोलनमा दमन गर्ने र भोलिपल्ट सिंहदरबार, शीतलनिवास, सर्वोच्च अदालत, संसद् भवन लगायत राष्ट्रिय महत्त्वका संरचना तथा व्यावसायिक र निजी संरचना ध्वस्त गर्नेहरूको छानबिन र कारबाही गरे मात्र निर्वाचनको वातावरण बन्ने उनको भनाइ छ । 

माओवादीका उपमहासचिव जनार्दन शर्माले राष्ट्रपतिले संविधानमा टेकेर चुनाव घोषणा गर्नु सकारात्मक भएको उल्लेख गर्दै चुनाव हुने निश्चित भने हुनुपर्ने बताए । ‘संविधानको रक्षा गर्न चुनाव नभई हुँदैन,’ उनले भने । 

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले राष्ट्रिय सभाको स्थायी स्वरूप र गतिशीलता कायम राखी अन्तरिम सरकारले प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्नु अपरिहार्य रहेको बताए । ‘तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गरिनुपर्छ । लोकतान्त्रिक हकअधिकारको निर्वाध उपभोग गर्ने वातावरण हुनुपर्छ,’ उनले भने, ‘चरम भ्रष्टाचार र दण्डहीनताविरुद्ध कडा कदम चाल्दै पुनर्निर्माण र आर्थिक सुधारमा सरकार अघि बढ्नुपर्छ । सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा द्रुतताको अपेक्षा पनि यस अन्तरिम सरकारबाट राखिएको छ ।’ रास्वपा समग्र राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनमा सदा सहयोगी भूमिकामा रहने बुर्लाकोटीको भनाइ छ ।

एकीकृत समाजवादीले चुनावमा भाग लिने विषयमा निर्णय भइनसकेको भए पनि निर्वाचनको विरोधमा दलहरू हुन नसक्ने जनाएको छ । ‘पहिले चुनाव हुने निश्चित हुनुपर्योण । निष्पक्ष, स्वतन्त्र र विश्वसनीय हुने वातावरण हुनुपर्यो  । यो प्रत्याभूति भयो भने हाम्रो पार्टी चुनावमा नजाने भन्ने हुँदैन,’ एकीकृत समाजवादीका वरिष्ठ नेता वेदुराम भुसालले भने, ‘ चुनावका विषयमा प्रमुख दलहरू छलफल गरेर निष्कर्षमा पुग्छन् ।’

जनता समाजवादी पार्टीका नेता मनीष सुमनले तोकिएकै समयमा चुनाव गराउन दलहरूले सरकारलाई सहयोग गर्नुपर्ने बताए । आफ्नो दलले प्रधानमन्त्री कार्कीलाई समर्थन गरेको उल्लेख गर्दै सरकारको मुख्य ध्यान चुनाव गराउनमा केन्द्रित हुनुपर्ने उल्लेख गरे । ‘हाम्रो पार्टीले चुनाव हुने अवस्थामा भाग लिने नै हो । विशेष परिस्थितिको आवश्यकता भएकाले सुशीला कार्कीलाई समर्थन गरेका हौं । चुनावमा भाग नलिने सोचेका छेनौ,’ उनले भने । लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी दलहरूकै रहेको पनि उनले उल्लेख गरे ।

गंगा

Link copied successfully