एमाले विधान महाधिवेशन : समूहगत छलफलपछि सुझाव प्रस्तुतीकरण आज

महाधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि समूहगत रूपमा आएका सुझावको प्रस्तुतीकरण हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।  

भाद्र २२, २०८२

कान्तिपुर संवाददाता

UML Legislative Convention: Presentation of suggestions after group discussion today

What you should know

काठमाडौँ — नेकपा एमालेको दोस्रो विधान महाविधेशन आज पनि जारी छ। ललितपुर गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महाधिवेशनको तेस्रो दिन आजको बन्दसत्रमा महाधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि समूहगत रूपमा आएका सुझावको प्रस्तुतीकरण हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।  

महाधिवेशनको बन्दसत्र बिहान ८:०० बजेबाट सञ्चालन हुनेछ । उनका अनुसार महाधिवेशनमा प्रस्तुत गरिएका सातवटा प्रतिवेदनमाथिको समूहगत छलफलपछि आज ती समूहका नेताले प्रतिवेदनमाथिको सुझाव प्रस्तुतीकरण गर्नेछन् । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्नेछन्।

यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय प्रतिनिधिले पनि प्रतिवेदनमाथि समूह नेताले सुझाव प्रस्तुत गर्नेछन्। समूह नेताले आआफ्नो समूहको प्रतिवेदनमाथि सुझाव दिइसकेपछि सोही सुझावका आधारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ ।

अध्यक्ष ओलीले समूहबाट आएका सुझावमा जवाफ दिएसकेपछि कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान पारित गरिने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।  त्यसैगरी, आज नै समसामयिक प्रस्ताव पारित गर्दै गर्ने कार्यसूचीसमेत रहेको छ । महाधिवेशनमा आज केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूचीसमेत रहेको एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी दुई हजार ३४१ जनाको सहभागिता छ । महाधिवेशन आज सकिने कार्यतालिका रहेको छ ।

कान्तिपुर

Link copied successfully