सत्तारुढ र प्रतिपक्षी विद्यार्थी संगठनको माग - 'सामाजिक सञ्जाल तत्काल सञ्चालन गर'

विद्यार्थी संगठनले सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरुलाई नेपालको कानुनअनुसार सूचीकरण प्रक्रियामा आउनसमेत आह्वान गरेका छन् ।

भाद्र २२, २०८२

सुदीप कैनी

Demand of ruling and opposition student organizations - 'Operate social media immediately'

What you should know

काठमाडौँ — सूचीकृत नभएका सामाजिक सञ्जाल सञ्चालनमा सरकारले गरेको प्रतिबन्धको सत्तारुढ र प्रतिपक्षी १७ विद्यार्थी संगठनले संयुक्त रुपमा प्रतिवाद गरेका छन् ।

सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई संकुचित गरेको नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनको ठहर छ । जसले विद्यार्थीको अध्ययन, अनुसन्धान र अन्वेषणमा समेत गम्भीर असर पुगेको विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गरेर जनाएका छन् । 

सरकारले भदौ १९ गते गरेको निर्णयले नेपालमा सूचीकृत नभएका फेसबुक, इन्स्टाग्रामलगायत २६ सामाजिक सञ्जाल बन्द भएका छन् । यी सञ्जालहरु आमनेपाली विद्यार्थी तथा नागरिकको दैनिकीसँग जोडिएकाले सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरुको भनाइ छ ।

विज्ञप्तिमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय पुनरावलोकन गर्न आग्रह गर्दै तत्काल पुन: सञ्चालन गर्न माग गरिएको छ । ‘सामाजिक सञ्जालहरु बन्द हुँदा सहज सञ्चारमा अवरोध उत्पन्न भएको छ । जसले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई संकुचित बनाउँदै विद्यार्थीहरुको अध्ययन, अनुसन्धान र अन्वेषणमा समेत गम्भीर असर पारेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साना तथा मझौला व्यवसायहरु सामाजिक सञ्चालनमार्फत बजार विस्तार र ग्राहक सम्पर्कमा निर्भर छन् । उनीहरुको रोजगारी गुम्ने र व्यवसाय धराशायी हुने गम्भीर खतरा देखिएको छ । तसर्थ सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनरावलोकन गर्न, तत्काल पुनः सञ्चालन गर्न, अभिव्यक्ति स्व्तन्त्रता, शिक्षण, रोजगारी र आर्थिक अवसरमाथि खतरा उत्पन्न गर्ने नीतिहरु तुरुन्त फिर्ता लिँदै विद्यार्थी, डिजिटल सामग्री निर्माता, व्यवसायी तथा अन्य सरोकारवालासँग तत्काल संवाद गरी उपर्युक्त विकल्प अवलम्बन गर्न माग गर्दछौं ।’ 

विद्यार्थी संगठनले सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरुलाई नेपालको कानुनअनुसार सूचीकरण प्रक्रियामा आउनसमेत आह्वान गरेका छन् ।

Demand of ruling and opposition student organizations - 'Operate social media immediately'

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully