एमाले प्रतिवेदन : ‘नेता, कार्यकर्ताको जीवनशैली भड्किलो र आचरण स्खलन देखिनु दुःखद’

एमालेले पार्टी निर्माणका लागि १४ वटा चुनौती अघि सारेको छ ।

भाद्र २१, २०८२

गंगा बीसी

UML report: ”It is sad to see the lifestyle of the leaders and workers in a flamboyant manner and their behavior is egregious.”

What you should know

काठमाडौँ — एमालेले नेता, कार्यकर्ताको जीवनशैली भड्किलो बन्दै जानु र आचरणमा समेत स्खलन देखिनु दुःखद् भएको भन्दै पार्टी निर्माणको चुनौतीका रुपमा लिएको छ ।

पार्टी निर्माणका चुनौतीहरु शीर्षकको एक नम्बर बुँदामा ‘जीवनशैली र आचारण सुधार’ राखिएको छ । जसमा नेता तथा कार्यकर्ताको आचरणमा स्खलन समस्याको रुपमा अघि सारेको छ  ।

महासचिव शंकर पोखरेलले जारी विधान महाधिवेशनमा सांगठनिक प्रस्तावमा जीवनशैली र आचरण सुधारमा मुख्य जोड दिएका छन् । ‘एमाले कठिन समयमा जनताको बीचमा हुर्किएको पार्टी हो । त्यसक्रममा यस पार्टीका नेता र कार्यकर्ताले उदाहरणीय जनशैलीको विकास गरे । पार्टी काममा उक्त जनशैलीलाई स्थापित गर्ने काम गरे । पार्टीले विकास गरेको सोही जीवनशैलीको बलमा जनतासँगको घनिष्ठ सम्बन्ध कायम गर्न पार्टी सफल रहँदैआएको छ,’ उनले प्रतिवेदनमा लेखेका छन्, ‘आज पनि पार्टी र नेतृत्वका विरुद्धमा चौतर्फी घेराबन्दी र आक्रमण भइरहँदा सोही जीवनशैलीसँग परिचित जनताको पङ्क्तिले नेकपा (एमाले) र यसको नेतृत्वको दृढतापूर्वक रक्षा गर्ने गरेको छ । तर पछिल्लो समयमा हाम्रो पार्टीका कतिपय नेता, कार्यकर्ताको जीवनशैली भड्किलो बन्दै जानु र आचरणमा समेत स्खलन देखिनु दुःखद् विषय हो ।’

प्रतिवेदनमा जीवनशैली र आचरणमा कमजोरी हुँदा व्यापक प्रश्न उठ्ने भएकाले सुधार गर्न उनको जोड छ । ‘पार्टीका नेता र कार्यकर्ताहरू हरदम जनताको निगरानीमा हुन्छन् भन्ने तथ्यलाई हृदयंगम गर्नु पर्दछ । जनता आफूले मन पराएका नेता र पार्टीका बारेमा आरोप लाग्दा चिन्तित बन्ने गर्छन्,’ भनेका छन्,  ‘नकारात्मक प्रचारले पार्टी पक्षको जनमतलाई समेत प्रभावित गर्दछ । तसर्थ, पार्टीका नेता र कार्यकर्ताले हरदम जनपक्षीय जीवनशैली र असल आचरण अवलम्बन गर्नुपर्ने हुन्छ ।’

एमालेले पार्टी निर्माणका लागि १४ वटा चुनौती अघि सारेको छ । वैचारिक, राजनीतिक स्तर उठान, पठन संस्कृतिको विकास गर्नुपर्ने, पार्टी सदस्यको प्रतिबद्धतामा कमी, कार्यकर्ताको व्यवस्थापन, नियमित अधिवेशन हुनुपर्ने, अवसरवाद, अराजकतावाद र गुटबन्दी, काठमाडौं उपत्यकामा पार्टीको कामको संयोजन बढाउनु पर्ने प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै पार्टी काम र कार्यकर्ताको सही मूल्यांकन हुनुपर्ने, जनसरोकारका मुद्दा उठाउनुपर्ने, पार्टी काममा दोहोरोपनको समस्या, कार्यविभाजनको जटिलता र जिम्मेवारीको अभाव, जनसंगठनलाई वर्ग र समुदायकेन्द्रित गर्ने समस्या, प्रवासमा पार्टी विस्तारको समस्या र नयाँ पुस्तामा पार्टीको काम विस्तार गर्नुपर्ने चुनौती महासचिव पोखरेलले अघि सारेका छन् ।

गंगा

Link copied successfully