बिचौलियाको डरले यो सरकार बचिरहेछ : दाहाल

कार्यक्रममा दाङ राप्ती गाउँपालिकाका अर्गानिक कृषक रामप्रसाद सुवेदीले आफ्नै फार्ममा उत्पादन गरिएको मालभोग केराको घरी दाहाललाई उपहार दिए ।

भाद्र २१, २०८२

दीपक परियार

This government is surviving because of the fear of intermediaries: Dahal

What you should know

पोखरा — माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ कांग्रेस–एमाले नेतृत्वको सरकार दलाल र बिचौलियाको दबाबमा बनेको दाबी गरेका छन् । 

नेपाल उद्योग व्यापार महासंघले शनिबार पोखरामा आयोजना गरेको 'समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका' विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दसौं र केन्द्रीय समितिको आठौं बैठकलाई सम्बोधन गर्दै उनले भने, 'कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक–धम्कीबाट बनेको हो । हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो ।' 

कांग्रेस–एमालेभित्रका इमानदार नेताले यस्तो सरकारमा बस्न नहुने उनको भनाइ थियो । उनले दलाल पुँजीवादी प्रवृत्तिले देशलाई बन्धक बनाइरहेको भन्दै माओवादी केन्द्र यसको वैकल्पिक शक्ति भएको दाबी गरे । 'हामी मध्यम वर्गकै प्रतिनिधि हौं । ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो,' उनले भने ।

सहकारी क्षेत्रमै समस्या सिर्जना गर्ने काम कांग्रेस–एमालेका नेताबाट भएको उनको आरोप छ । 'हामीले ठगलाई कारबाही गर्न शक्तिशाली प्राधिकरण बनाउन खोज्यौं । तर सरकार ढालियो, त्यसैले अघि बढ्न सकेन,' उनले थपे ।

संविधान निर्माणको जटिल यात्रामा माओवादीको योगदान निर्णायक रहेको उल्लेख गर्दै उनले अझै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा संरचनागत परिवर्तन नआएको स्वीकार गरे । 'परिवर्तनको लडाइँ अझै बाँकी छ,' उनले भने । उनका अनुसार पछिल्लो समय माओवादी घटकबीच सहकार्य बढेको छ र जनतामा विश्वास फिर्ता भइरहेको छ । 'नसोचेका ठाउँमा पनि हामी जितिरहेका छौं । जनताले बुझ्न थालेका छन्, माओवादी केन्द्र नै जनताको पक्षमा काम गर्ने शक्ति हो,' उनको भनाइ छ ।

कार्यक्रममा दाङ राप्ती गाउँपालिकाका अर्गानिक कृषक रामप्रसाद सुवेदीले आफ्नै फार्ममा उत्पादन गरिएको मालभोग केराको घरी दाहाललाई उपहार दिए ।

कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, स्थायी समिति सदस्य शशी श्रेष्ठ, महासंघका इन्चार्ज गंगा कार्की र गण्डकी प्रदेशका नेताहरूको सहभागिता थियो ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully