अध्यक्ष ओलीद्वारा प्रस्तुत प्रतिवेदनमा नेपाली समाजको बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा सामञ्जस्यका साथ अघि बढाउने योजना समेटिएको छ।
What you should know
गोदावरी (ललितपुर) — नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्दै समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोडिने बताए।
गोदावरीमा अध्यक्ष ओलीको राजनीतिक प्रस्तावको प्रतिवेदनको विस्तृत विवरण उपमहासचिव प्रदीप ज्ञवालीले वाचन गर्दै छन्। अध्यक्ष ओलीको नेपाली विशेषताको समाजवादको अवधारणा प्रस्तावमा भनिएको छ, 'नेपाली समाजको विशेषताका रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा सामञ्जस्यका साथ अगाडि बढाइनेछ। एकरूपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्द्धन गरिनेछ।'
नेपाली विशेषताको समाजवादको अनिवार्य कार्यभारमा राष्ट्रिय हितको रक्षा, राष्ट्रिय स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकास भनेर नवीन व्याख्या गरिएको छ। यसको एक मुख्य आधार ‘परिपूर्ण लोकतन्त्र’लाई अघि सारिएको छ।
अध्यक्ष ओलीद्वारा प्रस्तावित राजनीतिक प्रतिवेदनमा भनिएको छ, 'नेपाली विशेषताको समाजवादको एउटा महत्त्वपूर्ण पक्ष हो, यसले लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यतालाई आत्मसात् गर्नेछ। संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार, शक्ति पृथकीकरण र आवधिक निर्वाचनजस्ता विषय राज्य सञ्चालनका अभिन्न आधार हुनेछन्। दलहरूको बीचको प्रतिस्पर्धा सुनिश्चित गरिनेछ। जनताको अभिमतबाट मात्रै शासन सञ्चालन गर्ने, अनिर्वाचित सत्ता नहुने कुराको प्रत्याभूति गरिनेछ।'
प्रतिवेदनमा वर्ग संरचना खण्डअन्तर्गत निम्नवर्ग, मध्यमवर्ग र उच्चवर्गलाई चित्रण गरिएको छ। जसअनुसार निम्न वर्गको वार्षिक आय प्रायः १.५ लाख रुपैयाँभन्दा कम, मध्यमवर्गको आय करिब १.५–५ लाख रुपैयाँ र उच्च वर्गको आय पाँच लाख रुपैयाँभन्दा माथि भएकालाई आधार मानिएको छ।
जातीय र सामाजिक आयाममा दलित र मुस्लिम समुदायमा भूमिहीन, सीमान्त किसान र न्यून आय वर्ग बढी रहेको देखाइएको छ। सन् २०२२ को तथ्यलाई प्रतिवेदनमा आधार मानिएको छ। जसअनुसार औसत गरिबी दर २०.३ प्रतिशत, दलितमा भने ३० प्रतिशतभन्दा बढी रहेको छ।
त्यसैगरी, मानव विकास सूचकाङ्कमा पनि जातीय विभेद देखिएको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ। २००४ मा मानव विकास सूचकाङ्क बाहुन/क्षेत्रीमा ०.५५२, नेवारमा ०.४२४ र मुस्लिममा ०.४०१ मात्र थियो। यी तथ्यले गरिबी घट्ने दरमा पनि असमानता देखाएको छ। बाहुन/क्षेत्रीमा ४६ प्रतिशत, दलितमा २१ प्रतिशत र मुस्लिममा ६ प्रतिशत मात्र रहेको छ।
