एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो ।
काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन अनुरोध गरेकी छन् । शुक्रबारबाट ललितपुरको गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनमा सहभागी हुन बञ्चित गराइएपछि पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देश दिँदै आफूले पठाएको पत्र अध्ययन गर्न आग्रह गरेकी हुन् ।
एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो । बिहीबार साँझको सचिवालय बैठकले पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रीय कमिटीको अधिकार क्षेत्रभित्र पर्ने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभएको अवस्थामा विधान अधिवेशनमा एजेन्डा पनि बन्न नसक्ने बताएको थियो ।
पार्टीको सचिवालय बैठकले अधिवेशनमा जान रोकेपछि न्यूज एजेन्सी नेपालमार्फत भिडियो सन्देश दिँदै भण्डारीले प्रतिनिधिहरुलाई सफलताको शुभकामना व्यक्त गरिन् ।
एमाले र आफ्नो उद्देश्य एउटै भएकाले सबैले मिलेर समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नुपर्ने उनको भनाइ थियो । उनले विधान महाधिवेशनमा उपस्थित हुने पार्टीका सदस्यहरुको उपयुक्त सुझाव र सल्लाह पाउने आशा व्यक्त गरिन् ।
एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी रहेको र त्यसलाई पूरा गर्न भावनात्मक, संगठनात्मक रुपमा एकसाथ भएर अघि बढ्न उनले सुझाव दिइन् ।
