नेपाल सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गरेपछि महाधिवेशनका प्रतिनिधिहरू टिकटकमा व्यस्त देखिए।
काठमाडौँ — सर्वसाधारणका लागि फेसबुकलगायत सामाजिक सञ्जाल बन्द भए पनि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालय ‘पीएम केपी ओली सेक्रेटेरियट’ पेज भने खुलै रहेको पाइएको छ । बालकोट पेजबाट ओलीले विधान महाधिवेशन उद्घाटन गरेको तस्बिर दिउँसो १ बजे अपलोड गरिएको थियो । त्यसैगरी ‘बालकोट’ पेजले पनि सो तस्बिर सेयर गरेको थियो ।
सचिवालयले लेखेको स्ट्याटसमा छ, ‘नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको सनराइज सभा हलमा आजबाट सुरु भएको छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो ।’ सो पोस्ट दिउँसो १ बजे सचिवालयको पेजमा राखिएको थियो ।
महाधिवेशन प्रतिनिधिमा उकुसमुकुस
एमालेको दोस्रो विधान महाधिवेशनमा प्रतिनिधिहरूले गोदावरी सनराइज हल भित्र र बाहिर शुक्रबार व्यापक तस्बिर लिइरहेका थिए । तर ती तस्बिर फेसबुक र इन्स्टाग्राममा पोस्ट गर्न नपाउँदा छटपट भइरहेको देखिन्थ्यो । ‘फेसबुक र इन्स्टामा हालौँ भने बन्द छ, साँचेर राख्न काम लाग्ने होला’ उनीहरू भनिरहेका थिए ।
नेपालमा सूचीकृत भइसकेकाले बन्द नगरिएको टिकटक भने एमाले प्रतिनिधिहरूको रोजाइ बनेको थियो । सरकारले बिहीबार राति १२ बजेदेखि सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।
