पूर्वराष्ट्रपतिको पार्टी सदस्यताको विषय अनावश्यक ढंगले अघि बढाउने प्रयास गरियो : ओली

प्रधानमन्त्री ओलीले ललितपुरको गोदावरीस्थित महाधिवेशनमा विधान सम्बन्धि विषयमा मात्र छलफल हुने बताए। अन्य विषय कमिटीमा छलफल हुने स्पष्टोक्ति।

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

An attempt was made to advance the issue of former president's party membership in an unnecessary manner: Oli

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक ढंगले उचालिएको टिप्पणी गरेका छन् ।

शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो विषय महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल हुनै नसक्ने बताए। उनले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको विषय कमिटीगत छलफलको विषय भएकाले त्यहीँ छलफल हुने स्पष्ट गरे।

पार्टीमा कतिपय कुरा अनावश्यक ढंगले अघि बढाउन खोजिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई विधान महाधिवेशनको छलफलको विषय भन्न नसकिने बताए। उनले विधान महाधिवेशनमा विधानसँग सम्बन्धित विषयमै छलफल केन्द्रित हुने पनि बताए।

प्रधानमन्त्री ओलीले भने, 'विधान महाधिवेशनमा बेला–बेला केही विषय अनावश्यक ढंगले अघि बढाइएका छन्। ती कुरा विधान महाधिवेशनसँग सम्बन्धित छैनन्। ती विषय अन्यत्रै कमिटीगत छलफलका विषय हुन्। ती स्थायी कमिटी वा केन्द्रीय कमिटीमा छलफल गर्ने विषय बन्छन्। विधान महाधिवेशनमा विधानमै केन्द्रित भएर छलफल हुन्छ।'

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नेछन्। प्रधानमन्त्री ओलीले सोही कार्यसूचीमा केन्द्रित भएर विधान महाधिवेशनमा छलफल हुने बताए।

कान्तिपुर

Link copied successfully