बिहीबार केन्द्रीय पदाधिकारी बैठकमा उनले लिखित फरक मत राख्दै भण्डारीको सदस्यता रोक्नु गलत भएको उल्लेख गरेका छन् ।
काठमाडौँ — एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी राजनीतिमा प्रवेश तथा पार्टी सदस्य रोकेको विषयमा फरक मत राखेका छन् ।
बिहीबार केन्द्रीय पदाधिकारी बैठकमा उनले लिखित फरक मत राख्दै भण्डारीको सदस्यता रोक्नु गलत भएको उल्लेख गरेका छन् ।
‘केन्द्रीय कमिटीको बैठकमा छलफलको कार्यसूचीमा समेत नराखिएको पूर्वउपाध्यक्ष/पूर्वराष्ट्रपति कमरेड विद्यादेवी भण्डारीको २०८१ सालको प्रारम्भमै केन्द्रीय संगठन विभागद्वारा नविकृत गरिएको पार्टी सदस्यता खारेज गर्ने निर्णय सुनाइएको थियो,’ उनले फरक मतमा भनेका छन् ‘मेरो विचारमा–त्यस्तो निर्णयले पार्टीभित्र अस्वस्थता र स्वेच्छाचारितालाई बढावा दिने काम गर्नेछ । यो राजनीतिक पूर्वाग्रहको एउटा गम्भीर दृष्टान्तको रूपमा पनि उल्लेख हुनसक्छ ।’
उनले भण्डारीको सदस्यता रोक्ने निर्णय सच्याउन मागसमेत गरेका छन् । ‘पूर्वउपाध्यक्ष भण्डारीलाई नेकपा (एमाले)को सदस्यसमेत नरहने गरी, पार्टी राजनीतिमा समेत संलग्न हुन नपाउने गरी गरिएको निर्णय र त्यसपछि जारी गरिएको ‘अन्तर पार्टी निर्देशन – १२’मा उल्लेख गरिएको सो विषय नेपालको संविधान, कानुनी प्रबन्ध र हाम्रो पार्टीको विधान प्रतिकूल रहेकोले त्यस निर्णयसित सहमत हुन नसकी विधान महाधिवेशन अगाडि आयोजना गरिएको यो सचिवालय बैठकसमक्ष मेरो मत प्रस्तुत गर्दैछु,’ उनले भनेका छन्, ‘पार्टी र आन्दोलनमा पर्ने दूरगामी नकारात्मक प्रभाव र परिणामको गम्भीर सम्भावनालाई समेत ख्याल गर्दै उक्त निर्णयप्रति आफ्नो असहमति राख्दै पार्टी विधानको धारा ७८ (१) मा भएको व्यवस्थाबमोजिम मेरो फरक मतमा छलफल गरियोस् र पूर्वनिर्णयलाई सच्याइयोस् भनी अनुरोध (माग) गर्दछु ।’
उनले लोकतन्त्रका विश्वव्यापी मान्यता तथा अभ्यास, नेपालको संविधान तथा प्रचलित कानुनअनुसार कुनै पनि नागरिकको राजनीतिक अधिकारमाथि बन्देज लगाउन नमिल्ने तर्क गरेका छन् । ‘हाम्रो पार्टीको विधान र हाम्रो पार्टीले लामै समयदेखि अवलम्बन गर्दै आएको पार्टी जीवनको लोकतान्त्रिकरणको अभ्यासले पनि यस्तो कुरालाई स्वीकार गर्दैन,’ उनको तर्क छ, ‘राष्ट्रपतिको पदावधि पूरा गरिसकेपछि एउटा जिम्मेवार नेपाली नागरिकका हैसियतले नेकपा (एमाले)का अध्यक्ष लगायतका पार्टीका अन्य नेताहरू, विभिन्न पार्टीका नेता, विभिन्न क्षेत्रका विज्ञ/ विशेषज्ञ, आम नागरिकसित समेत लगातारको छलफलपछि सबैको सल्लाह, सुझावमा नै आफूले पार्टी केन्द्रीय कार्यालयबाटै (केन्द्रीय संगठन विभागबाटै) आधिकारिक रूपमा पार्टी सदस्यता नवीकरण गरी पार्टी परिवारको सदस्य भएको तथ्य सार्वजनिक गरिसक्नु भएको हो ।’
अध्यक्ष ओली प्रमुख अतिथि रहनु भएको ‘जननेता मदन भण्डारी’को जन्मजयन्तीका दिन २०८२ असार १४ मा राष्ट्रिय सभागृहमा आयोजित भव्य सार्वजनिक कार्यक्रममा उहाँले औपचारिक रूपमै आफूले पार्टी सदस्यता नवीकरण गरिसकेको जानकारी दिएको उनको तर्क छ । ‘विद्यादेवी भण्डारी अहिले पार्टी परिवारको सदस्य हुनु वा पार्टीमा औपचारिक रूपमा जोडिनु कुनै पनि दृष्टिले नेपाल, नेपाली जनता, संघीय लोकतान्त्रिक गणतन्त्र र नेपाली समाजका लागि नोक्सानदायी विषय हुन सक्तैन,’ पोखरेलको भनाइ छ, ‘दलीय प्रणालीअन्तर्गत औपचारिक राजनीतिक निर्णयका आधारमा विशेष कामका लागि प्रदान गरिएको विशेष जिम्मेवारी पार्टीको विधानको धारा ९ को (३) को व्यवस्थालाई हामी सबैले बुझ्नुपर्ने आवश्यकता छ ।’
पार्टी केन्द्रीय संगठन विभागबाटै गरिएको उहाँको सदस्यता नवीकरण भए पनि विवादमा पारिएको उनको दाबी छ । ‘पार्टी अध्यक्षसित उहाँको पटकपटक भएका आपसी सम्वाद र पार्टी राजनीतिमा उहाँ पुनः जोडिने विषयमा त्यहाँ भएका/गरिएका र सार्वजनिक संचारमाध्यममार्फत बाहिर आएका छन्,’ पोखरेलले भनेका छन्, ‘अध्यक्ष कमरेडका स्पष्ट अभिव्यक्तिहरू, २०८२ ज्येष्ठ १० देखि १९ सम्म औपचारिक रूपमा चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारका तर्फबाट गरिएको निमन्त्रणालाई स्वीकार गरी पार्टी नेतृत्वसितको सल्लाह र योजनामा उहाँले नेकपा (एमाले) लाई प्रतिनिधित्व गर्दै औपचारिक भ्रमण र त्यस अवधिमा त्यहाँ उहाँले व्यक्त गर्नुभएका विचार आदि प्रसंगहरूले उहाँ पार्टी परिवारमा औपचारिक रूपमै सम्बन्धित बनिसक्नु भएको तथ्य स्वतः पुष्टि भैसकेको कुरा हो ।’
