थापाले सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्न सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाउनसमेत आग्रह गरेका छन् ।
काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेर सरकारले उल्टो बाटो लिएको बताएका छन् । उनले सरकारको निर्णयमा पुनर्विचार गर्नसमेत माग गरेका छन् ।
‘सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन/प्रसारण हुने अनिच्छित सामग्रीको मूल्यांकन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउने हो । सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन छ, त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौं ।’
थापाले सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्न सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाउनसमेत आग्रह गरेका छन् ।
‘आजको दिनमा सामाजिक सञ्जाल नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने र सरकारलाई जवाफदेही बनाउन महत्वपूर्ण मञ्च प्रदान गर्ने माध्यम बनेको छ । सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्रजस्ता विविध विषय र आममानिसको दैनिकीसँग जोडिएको छ,’ उनले भने,‘सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्छ । सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिमसँग समेत जोडिएको छ। हामीले यस विषयमा सन्तुलित र विवेकपूर्ण भएर सोच्नुपर्छ ।’
