२,०२६ प्रतिनिधि र ३१५ आयोजकसहित महाधिवेशनको तयारीबारे पत्रकार सम्मेलनमा जानकारी दिइयो।
What you should know
काठमाडौँ — एमालेले विधान महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २० गते महाधिवेशनको उद्घाटन गर्ने कार्य तालिका छ ।
महाधिवेशनको तयारीबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना गरी २ हजार ३ सय ४१ प्रतिनिधि सहभागी हुने जानकारी दिए ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ महाधिवेशनको गरिमा, औचित्य र महत्वलाई ध्यानमा राखी तयारी पूरा भएको उनले बताए । अधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रस्ताव पेस गर्ने छन् ।
‘अध्यक्षले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनले विकसित राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै आजका मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्नेछ,’ गौतमले भने, ‘प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने राजनीतिक प्रस्तावसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अगाडि बढाउने मार्गचित्र प्रस्तुत गरिएको छ ।’
उनका अनुसार प्रतिवेदनले निर्णायक राष्ट्रिय शक्ति निर्माणलाई पार्टी कामको केन्द्रबिन्दु बनाउन निर्देशन दिएको छ ।
पार्टी महासचिव पोखरेलको सङ्गठनात्मक प्रस्तावमा पार्टी निर्माणका क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय, आजसम्मका सर्वस्वीकार्य मान्यताका आधारमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र प्रस्तुत हुने एमालेले जनाएको छ ।
‘पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न समाजका सबै क्षेत्रमा हाम्रो पार्टीप्रति देशभक्तिपूर्ण भावना, विकास र समृद्धिको योजना तथा सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य व्यवस्थामा विश्वास र भरोसा गर्ने स्थिति सिर्जना गर्ने नीति स्पष्ट गरिएको छ,’ एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मुलुकमा राजनीतिक स्थायित्व, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, समृद्धि र सुशासनलाई निर्वाध अगाडि बढाउन राष्ट्रिय शक्तिको निर्माण अपरिहार्य रहेकोमा जोड दिइएको छ ।’
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने विधान संशोधनसम्बन्धी प्रस्तावमा पार्टीमा दुई खाले सदस्यको व्यवस्था, ७० वर्षे उमेर हद नराख्ने, जिल्ला कमिटीलाई कार्यकारी रूपमा कायम गर्ने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एक तिहाइ पोलिटब्युरो र १५ जना पदाधिकारीसहित स्थायी कमिटी रहने व्यवस्था प्रस्ताव गरिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । पदाधिकारीमा एक जना महिला अनिवार्य हुने प्रावधानसमेत प्रस्ताव गरिएको छ ।
महासचिव पोखरेलले राजनीतिक दस्ताबेजमाथि फरक मत नआएको बताए । ‘पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताबारे दुई उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटीको निर्णयमाथि फरक मत राख्नुभएको छ,’ उनले भने, ‘महाधिवेशनमा दस्तावेजमा फरक मत आए छलफल हुन सक्छ ।’
विधान महाधिवेशन सम्पन्न गर्नका लागि आठ वटा उपसमितिहरू गठन भएका छन् ।
