'नेपालको पश्चिमको सीमामा भारत मात्र नभई चीन पनि स्वतः जोडिन्छ । नेपालको दार्चुलाको पश्चिमी सीमा भारतसँग मात्र नभई चीनसँग पनि जोडिएको हो । त्यो त्रिदेशीय बिन्दु हो । सुगौली सन्धी अनुसार लिम्पियाधुरामा नै त्रिदेशीय सीमा बिन्दु हुन आउँछ, त्यसैले पनि चीन जोडिन आउछ ।'
What you should know
काठमाडौँ — सत्तारुढ कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीका सम्बन्धमा जारी सीमा विवादमा चीनका राष्ट्रपति सी चिनफिङले दिएको जवाफ नेपालका लागि सन्तोषजनक नरहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा राष्ट्रपति सीले लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवाद भारत र नेपालको दुई पक्षीय भनेर पन्छिन खोजेको बडूको भनाइ थियो ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा दार्चुलाबाट निर्वाचित सांसद बडूले प्रधानमन्त्री ओलीसँगको भेटमा चिनियाँ पक्षले दिएको जवाफ नेपालका लागि सन्तोषजनक नरहेको बताएका हुन् ।
समाधान गर्ने विषय हो र यसमा आफू पक्ष वा विपक्षमा संलग्न नहुने भन्दै स्पष्टतः पन्छिने गरी दिनुभएको जवाफ कदापी सकरात्मक मान्न सकिँदैन र हाम्रो सार्वभौमिकताका प्रति अपेक्षित सम्मान भाव समेत प्रकट भएको मान्न सकिँदैन ।
नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकता जस्तो संवेदनशील विषयका सन्दर्भमा विगतदेखि भइरहेको कूटनीतिक पहल र प्रेषित प्रोटेस्ट नोटहरूको पृष्ठभूमिसमेतको अवस्थमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग औपचारिक भेटमा गम्भीरतापूर्वक विषय राखेको तर चिनियाँ पक्ष पन्छिएको बडूको भनाइ थियो । 'प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसितको औपचारिक भेटमा यति गम्भीरतापूर्वक राख्नुभएको यस संवेदनशील विषयमा मित्रराष्ट्र चीनका राष्ट्रपतिले यो सीमा विवाद नेपाल भारत दुई पक्षीय समाधान गर्ने विषय हो र यसमा आफू पक्ष वा विपक्षमा संलग्न नहुने भन्दै स्पष्ट तः पन्छिने गरी दिनुभएको जवाफ कदापि सकारात्मक मान्न सकिँदैन,' बडूले भने, 'हाम्रो सार्वभौमिकताका प्रति अपेक्षित सम्मान भावसमेत प्रकट भएको मान्न सकिँदैन । आफ्नो भौगोलिक अखण्डता र सार्वभौमिकताका सन्दर्भमा नेपालबाट एक चीन नीतिप्रति सदैव अपेक्षा गरिरहने मित्रराष्ट्र चीनले हाम्रो सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका प्रति पनि सोही अनुकूलको सम्मान भाव नेपालले पनि राख्दछ भन्ने हाम्रो अपेक्षा स्वाभाविक हुन्छ भन्ने विषय हामीले बुझाउन नसकेको हो वा स्वयं चीनले बुझ्न नचाहेको हो ?'
नेपालको लिपुलेकलाई भारतसँग मिलेर व्यापार गर्न सहमत हुने चीनले अहिले पन्छिन खोजेको पनि बडूको भनाइ थियो । चीन र भारतबीच लिपुलेक पासलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउने गरी २०७२ र २०८२ भाद्र ३ मा सहमति भएको थियो ।
नेपालको दार्चुलास्थित पश्चिमोत्तर सीमा लिम्पियाधुरा त्रिदेशीय सीमा बिन्दु भएकाले त्यहाँ चीनको पनि संलग्नता रहेको बडूको भनाइ थियो । 'नेपालको पश्चिमको सीमामा भारत मात्र नभई चीन पनि स्वतः जोडिन्छ । नेपालको दार्चुलाको पश्चिमी सीमा भारतसँग मात्र नभई चीनसँग पनि जोडिएको विषय हो । त्यो त्रिदेशीय बिन्दु हो । सुगौली सन्धि अनुसार लिम्पियाधुरामा नै त्रिदेशीय सीमा बिन्दु हुन आउँछ । त्यसैले पनि चीन जोडिन आउँछ,' बडूले भने ।
नेपालको पश्चिमोत्तर सीमा लिम्पियाधुरा त्रिदेशीय बिन्दु भएकाले तीन वटै देश मिलेर विवाद समाधान गर्नुपर्ने पनि बडूको भनाइ थियो ।
त्यस्तै, प्रधानमन्त्री ओलीसँगको भेटपछि चीनको विदेश मन्त्रालयले जारी गरेको प्रेस नोटमा लिपुलेक पासबारे उल्लेख नभएको तर त्यहाँ नउठेको भनेको जीएसआईमा नेपालले सहमति जनाएको भन्ने उल्लेख गरेकोमा पनि बडूले आपत्ति जनाए । 'प्रधानमन्त्रीले राख्नुभएको लिपुलेकको विषय सम्बन्धमा आपत्तिका सन्दर्भमा चीनको विदेश मन्त्रालयको प्रेस नोटमा कुनै उल्लेख नभएको बरु छलफलको एजेन्डामा नै नआएको भनिएको जीएसआई प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय विज्ञप्तिमा उल्लेख भएर आयो, किन र कसरी ? यस सन्दर्भमा प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले स्पष्ट गर्नुपर्ने हुन्छ,' बडूले माग गरे ।
