विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव

सांसदहरूले विधेयकमा विगतका गल्तीबाट सिक्न र विचाराधीन विधेयकहरू अघि बढाउन सुझाव दिएका छन्।

भाद्र १७, २०८२

कान्तिपुर संवाददाता

Suggestions to the Speaker to proceed with the pending bill

What you should know

काठमाडौँ — राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई बधाई तथा शुभकामना दिँदै समितिमा विचाराधीन विधेयकलाई अघि बढाउन सुझाव दिएका छन् ।

समितिको आजको बैठकमा सदस्यहरूले विधेयक निर्माणमा विगतमा भएका गल्तीबाट पाठ सिकेर अघि बढ्न सुझाव दिए । उनीहरूले समितिमा विचाराधीन रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्माणमुखी सामग्री व्यवस्थापन तथा प्रहरी विधेयक तत्काल अघि बढाउन आग्रह गरे । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले विधेयक निर्माणमा गम्भीर बन्न आग्रह गर्दै जनप्रतिनिधिमुलक थलोबाट निर्माण भएको विधेयक प्रमाणीकरण नभई फर्कने अवस्था नआउने वातावरण बनाउनुपर्नेमा जोड दिए । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद दुर्गा राईले विधेयक निर्माणमा विगतको जस्तो त्रुटि नहुने गरी ध्यान दिन आग्रह गरिन् । 'विधेयकको दफा÷दफा स्पष्ट पारेर मात्र समितिबाट प्रतिवेदन पास गर्नुपर्छ,' उहाँले भने, 'सदन नचलेको बेला समितिको बैठक राखेर विचाराधीन अख्तियार, निर्माणमुखी, प्रहरीलगायत विधेयक तत्काल अघि बढाऔँ ।'

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद पदम गिरीले समितिले निश्चित समयसीमा किटान गरेर विधेयक अघि बढाउनुपर्नेमा जोड दिए। 'निश्चित समय तोकेर विधेयक अघि बढाउनुपर्छ, त्यो नभएसम्म नागरिकको गुनासो आइरहन्छ । अरुलाई सुशासनको पाठ पढाउने तर हामीले पालना नगर्ने भन्ने हुनुहुँदैन,' उनले भने । 

जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले सुशासनको पालना समितिबाटै सुरु हुनुपर्ने बताए । 'समितिमा आएको विधेयक अड्काउने काम हुनुहुँदैन । कि त ती विधेयक सरकारले फिर्ता लगोस्, होइन भने समितिले प्रक्रिया अघि बढाओस्,'उनले भने ।

कान्तिपुर

Link copied successfully