यस्तो छ एमाले विधान महाधिवेशनको तीनदिने कार्यसूची

विधान महाधिवेशनमा २ हजार ३ सय ५० प्रतिनिधिले भाग लिने छन् । महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्पः समृद्धि नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ छ ।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

This is the three-day agenda of the UML Legislative Convention

What you should know

काठमाडौँ —  आगामी शुक्रबारदेखि सुरु हुने एमालेको दोस्रो विधान महाधिवेशनमा राजनीतिक र सांगठनिक प्रतिवेदन, विधान मस्यौदा, समसामयिक राजनीतिक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । अध्यक्ष केपी शर्मा ओली भदौ २० गते शुक्रबार गोदावरीस्थित सनराइज हलमा महाधिवेशनको उद्घाटन गर्नेछन् ।

तीन दिन चल्ने उक्त विधान महाधिवेशनमा प्रमुख नेताहरूको मन्तव्य, राजनीतिक, सांगठनिक प्रतिवेदन र विधान मस्यौदा प्रस्तुत हुनेछन् । त्यस्तै बिभिन्न प्रतिवेदनमाथि सुझाव दिन प्रतिनिधिहरूबाट समूह विभाजन गरी नेता चयन गरिनेछ ।

भदौ २१ मा सबै समूहमा प्रतिवेदनहरूमाथि छलफल गरी टोली नेताले निष्कर्ष निकाल्ने कार्यक्रम छ । त्यस्तै महाधिवेशनको अन्तिम दिन भदौ २२ मा समूहतर्फबाट निष्कर्ष प्रस्तुति, समूहबाट आएका सुझावहरूलाई नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम छ । समूहबाट आएका सुझावका आधारमा महाधिवशेनको हलले औपचारिक रूपमा पारित गर्ने कार्यक्रम रहेको प्रचार विभाग राजेन्द्र गौतमले जानकारी दिए ।

‘सबै प्रतिवेदनमाथि खुला छलफल हुनेछ । प्रतिनिधिहरूले खुलेर आफ्ना धारणा राख्न पाउने व्यवस्था छ,’ उनले भने, ‘प्रतिनिधिहरूको सुझावलाई सम्मान गरिनेछ ।’

केन्द्रीय कमिटी अनिश्चित

एमालेको भदौ १३ मा स्थगित भएको केन्द्रीय कमिटी बैठक अनिश्चित भएको छ । विधान मस्यौदामाथि प्रदेश, जिल्ला र पालिका कमिटीबाट आएका सुझाव र राजनीतिक र सांगठनिक प्रतिबेदनबारे छलफल गर्न तय भएको केन्द्रीय कमिटी स्थगित गरिएको थियो ।

केन्द्रीय कमिटी स्थगित गरी केन्द्रीय सचिवाल वा स्थायी कमिटी बसेर प्रतिवेदन अघि बढाउने प्रचार विभाग प्रमुख गौतमले बताए । ‘केन्द्रीय सचिवालय वा स्थायी कमिटी बसेर राजनीतिक, सांगठनिक, विधान मस्यौदालाई अघि तयारी छ,’ उनले भने, ‘अब प्रस्तावहरूमा एकैचाटि महाधिवेशनमा व्यापक छलफल हुन्छ । प्रतिनिधिहरूले आफ्नो राय राख्नेछन् ।’

विधान महाधिवेशनमा २ हजार ३ सय ५० प्रतिनिधिले भाग लिने छन् । महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्पः समृद्धि नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ छ । यसका साथै जनताको बहुदलीय जनवादका टेकेर नेपाली विशेषताको समाजवादप्रति प्रतिबद्ध हुने रोडम्याप तयार गर्ने एमालेले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully