रूपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सातजना सिफारिस

रुपन्देहीको भैरहवामा बसेको जिल्ला कमिटी बैठकले महासचिव घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको छ।

भाद्र १६, २०८२

रासस

Seven candidates from CPN S recommended for Rupandehi-3 by-election

देवदह (रुपन्देही) — रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ ।

पार्टीको जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले  महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको छ । भुसाल यही क्षेत्रमा २०७४ सालमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ को सह–इञ्चार्ज विजयलक्ष्मी रायको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ । 

जिल्लाले पठाएको नामलाई उम्मेदवार छनोट गर्न बनेको कार्यदलले एक महिलासहित तीनजनाको नाम केन्द्रीय समितिमा सिफारिस गर्नेछ । पार्टीको केन्द्रीय उपमहासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज मेटमणि चौधरी, केन्द्रीय सचिव तथा प्रदेश सह–इञ्चार्ज सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इञ्चार्ज ई नन्दलाल बन्जाडे र रुपन्देही अध्यक्ष हीराध्वज शाह सदस्य रहेको कार्यदलले तीन जनाको नाम पठाउनेछ । 

कार्यदलले सातैजनासँग छलफल गर्ने र चुनावी रणनीति बुझेपछि मात्रै तीन जनाको नाम सिफारिस गर्ने उपमहासचिव चौधरीले जानकारी दिए । रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।

रासस

Link copied successfully