रुपन्देही-३ उपनिर्वाचन : साना दल धमाधम उम्मेदवारी घोषणा गर्दै, अलमलमा ठूला दल

ठूला भनिएका दलले भने उम्मेदवार चयनलाई महत्त्व दिएको पाइँदैन । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिले घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छन् ।

भाद्र १६, २०८२

दीपेन्द्र बडुवाल

Rupandehi-3 by-election: Small parties declaring candidacy, big parties in confusion

What you should know

भैरहवा — रुपन्देही–३ मा कात्तिक १७ तोकिएको उपनिर्वाचनका लागि साना दलले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । रास्वपाले आइतबार साँझ सिद्धार्थनगर नगरपालिका–९ का बासिन्दा न्युरोलोजिस्ट डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरिसकेको छ ।

डेढ महिनासम्म आन्तरिक उम्मेदवारी छनोट प्रक्रिया सञ्चालन गरेको रास्वपाले टुंगो लगाएलगत्तै अन्य दललाई पनि उम्मेदवार सार्वजनिक गर्ने दबाब बढेको छ ।

तर ठूला भनिएका दलले भने उम्मेदवार चयनलाई महत्त्व दिएको पाइँदैन । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिले घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छन् । राप्रपाले एक महिनाअघि नै उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस गरेको थियो । राप्रपा जिल्ला कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्यद्वय वसन्तविक्रम शाही, स्वाति थापा, जिल्ला अध्यक्ष सागरप्रताप राणा र निर्वतमान सांसद दीपक बोहोराका छोराद्वय गौरव र प्रज्वल तथा दिलीपकुमार मल्लिकको नाम सिफारिस गरेको थियो । उम्मेदवार बन्नका लागि बोहोरा परिवारका गौरव, प्रज्वल र थापा गरेर तीन जना आकांक्षी देखिएका छन् ।

राप्रपाबाट दीपक बोहोराका जेठा छोरा गौरवले निर्वाचनमा आएर कार्यकर्ता भेला र भेटघाट गरिरहेका छन् । बोहोराकी नातिनी थापाले पनि यसअघि निर्वाचन क्षेत्रमा पूरा गरिएका विकास निर्माणका काम र सेवाबारे सामाजिक सञ्जालबाट स्पष्ट पारिरहेकी छिन् ।

Rupandehi-3 by-election: Small parties declaring candidacy, big parties in confusion

 धेरै जनाले दाबी गरेका कारण निर्वाचनका क्रममा मनमुटावको जोखिम देखिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एक साताअघि पार्टी केन्द्रीय कार्यालयमा सबै आकांक्षीलाई एकजुट गराएर जो उम्मेदवार बने पनि एकअर्कालाई सघाउने सहमति कायम गराएका छन् । २०७९ को आम निर्वाचनमा रुपन्देही–३ बाट तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेर दीपक बोहोरा विजयी भएका थिए । बोहोराको निधनपछि यस क्षेत्रमा उपनिर्वाचन तोकिएको हो । राप्रपाले आफ्नो विरासत कायम राख्न पनि बलियो उम्मेदवार घोषणा गरिने जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आइतबार उम्मेदवारका लागि ७ जनाको नाम सिफारिस गरेको छ । पार्टी जिल्ला समितिको भैरहवामा बसेको बैठकले महासचिव घनश्याम भूसालसहित लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हिराध्वज शाह, प्रदेश सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खनाल र विजयलक्ष्मी राय रहेका छन् ।

एक महिनाअघि आफ्ना शीर्ष नेताको सहभागितामा चुनावी सभा गरिसकेको संघीय लोकतान्त्रिक मोर्चा अहिले उम्मेदवारको खोजीमा देखिएको छ । मोर्चाले रुपन्देही–३ बाट नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, नागरिक उन्मुक्ति पार्टीले निर्वाचनमा दल दर्ता नगरेपछि मोर्चा अप्ठ्यारोमा परेको हो । आफ्नो दल आयोगमा दर्ता नभएपछि धनिराम जनमत पार्टीमा प्रवेश गरिसकेका छन् । जनमतले अहिले धनिरामलाई रुपन्देही–३ का लागि उम्मेदवार बनाउने तयारी गरेको छ ।

Rupandehi-3 by-election: Small parties declaring candidacy, big parties in confusion

गत निर्वाचनमा एमाले–राप्रपाबीच चुनावी तालमेल थियो । यसपटक एक्लै चुनावमा होमिने तयारीमा रहेको एमालेबाट प्रारम्भिक रूपमा चार जना आकांक्षी देखिएको एमाले जिल्ला सचिवालय सदस्य सन्दीप गुप्ताले बताए । उनका अनुसार यसपटक पोलिटब्युरो सदस्य खिमलाल भट्टराई प्रमुख दाबेदार देखिएका छन् । भट्टराईले जिल्लाका ग्रामीण क्षेत्रमा कार्यकर्ता भेटघाट र हरेक कार्यक्रममा सहभागितालाई जोड दिएका छन् । त्यस्तै व्यवसायी शशि पौडेल, लुम्बिनी प्रदेश सदस्य हरिप्रसाद अधिकारी र यज्ञजित शाहले पनि उम्मेदवारीका लागि आकांक्षी देखिएका छन् । ‘उम्मेदवार टुंगो नलाग्दा कार्यकर्तामा अझै जोश आइसकेको छैन,’ गुप्ताले भने, ‘पार्टीले छिट्टै उम्मेदवार टुंग्याएको खण्डमा चुनावी माहोल तयार हुन्थ्यो ।’

Rupandehi-3 by-election: Small parties declaring candidacy, big parties in confusionगत निर्वाचनमा उपविजेता कांग्रेसले क्षेत्रीय स्तरमा कार्यकर्ता भेटघाट गरे पनि उम्मेदवारीको टुंगो लगाउन सकेको छैन । गत निर्वाचनमा कांग्रेस नेता बालकृष्ण खाँण उम्मेदवार बनेका थिए । उपनिर्वाचनको घोषणासँगै खाँण उम्मेदवारमा दोहोरिन सक्ने प्रचार गरिएको थियो । कांग्रेस महाधिवेशन प्रतिनिधि महेन्द्रकुमार श्रेष्ठले कांग्रेस–एमालेले अहिले पनि एकअर्कालाई प्रतिद्वन्द्वी आकलन गरिरहेकाले फिल्डमा पुगेर मतदाताको भावना बुझ्ने काम गरिरहेको बताए । खुला रूपमा तडकभडक नगरे पनि ठूला दलले गत निर्वाचनमा प्राप्त मतको विश्लेषण र आगामी रणनीतिबारे पार्टी संरचना मार्फत जानकारी लिने काम गरिरहेको उनले बताए ।

‘वडावडामा पुगेर कार्यकर्तालाई फलोअप गर्ने काम चलिरहेको छ,’ उनले भने, ‘पहिले गठबन्धन हुन्थ्यो, यसपटक एक्लाएक्लै मैदानमा जाने भएकाले मतदाता झन् क्लियर छन् ।’ श्रेष्ठका अनुसार गत निर्वाचनमा कांग्रेस उम्मेदवार खाँणले ३४ हजार मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ २० हजार मत प्राप्त गरेका थिए । ‘समानुपातिकबाहेकको १४ हजार मत कहाँबाट प्राप्त भएको थियो भन्नेबारे नेताहरू विश्लेषणमा लागेका छन्,’ उनले भने ।

दलहरूबाट उम्मेदवार टुंग्याउन ढिलाइ भइरहे पनि रुपन्देही–३ का लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका केही व्यक्ति डेढ महिनादेखि मत माग्दै घरदैलोमा पुगिरहेका छन् । आफूलाई काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहका सहयोगीका रूपमा चिनाएका सन्तोष गिरी दुई महिनादेखि घरदैलो र भेटघाटमा व्यस्त छन् ।

Rupandehi-3 by-election: Small parties declaring candidacy, big parties in confusion

पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण सिद्धार्थनगर नगरपालिकासम्म नागरिकसित भेटघाट गर्दै आफ्नो भनाइ राखिरहेका छन् । सिद्धार्थनगरका युवा अजयकुमार गुप्ता ५१ दिनदेखि प्रचार गर्दै नागरिक भेटघाट र घरदैलोमा व्यस्त छन् । ‘दिनमा २० देखि ३० घर पुगिरहेको छु,’ गुप्ताले भने, ‘अहिले सिद्धार्थनगर र आसपासका बस्तीमा पुगिरहेको छु, दल त्याग गरेर स्वतन्त्र उम्मेदवार बनेकोमा खुसी छन् ।’ यसअघि उनी राप्रपामा क्रियाशील थिए । जनता राजनीतिक दलसित दिक्क भएकाले विकल्प खोजिरहेको उनले बताए । ‘जनताले गैरराजनीतिक छाप लागेको व्यक्ति खोजिरहेको पाएको छु,’ उनले भने ।

दीपेन्द्र बडुवाल

Link copied successfully