सांसद पराजुलीले चीन भ्रमणअघि सरकारलाई चीन–भारत सहमतिबारे स्पष्ट पार्न र साझा अवधारणा बनाउन आग्रह गरे।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले महाकालीपारिका लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अविभाज्य भूभाग भएकोमा आफ्नो दल दृढ रहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पराजुलीले चीन–भारत सहमतिबारे चीन भ्रमणअघि स्पष्ट पार्न र राष्ट्रियताको सन्दर्भमा साझा अवधारणा बनाउन सरकारसँग माग गरे । उनले १८१६ को सुगौली सन्धिबाट काली नदी नेपालको पश्चिमी सीमा भएको ऐतिहासिक तथ्य विवादको विषय बन्न नसक्ने बताए । लिम्पियाधुरा काली नदीको उद्गमस्थल भएको र यही नदी नेपालको पश्चिमी सीमा भएको विभिन्न प्रमाणले पुष्टि गर्ने उनको भनाइ छ। नेपालको प्रत्यक्ष सहभागिता र सहमतिबिना भारत र चीनबीच गरिएको कुनै पनि सम्झौता वैधानिक नहुने उनको जिकिर छ।
उनले भने, ‘राष्ट्रको अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनताको संरक्षणभन्दा ठूलो जिम्मेवारी कुनै पनि दल वा सरकारको हुन सक्दैन। नेपालको भूभागमाथि अन्य राष्ट्रहरूले नेपालको प्रत्यक्ष सहभागिता र सहमतिबिना गर्ने कुनै सम्झौता वा गतिविधि वैधानिक हुँदैन र हुन सक्दैन। यस्तो कार्यले आपसी सम्मान र सहअस्तित्वको सिद्धान्तमाथिको ठाडो प्रहार मात्र होइन, नेपालको राष्ट्रिय स्वाभिमानमाथिको धक्का पनि हो। भारत र चीनबीच नेपाललाई सहभागी नगराई लिपुलेक मार्ग प्रयोग गर्न गरिएको समझदारी अन्तर्राष्ट्रिय कानुनको दृष्टिले अवैध छ। जनताले प्रश्न गरेका छन्, सरकारले किन मौनता साधेको छ?’
उनले देशको सीमा विवादको समस्या समाधान गर्न कूटनीतिक पहल गर्न समेत सरकारको ध्यानाकर्षण गरे ।
