सांसदहरूले उखु किसानको अनुदान र वन्यजन्तु आक्रमणबारे सरकारको ध्यानाकर्षण गराउँदै समाधानको माग गरे।
What you should know
काठमाडौँ — सांसदहरुले माइतीघरमा आन्दोलनरत उखु किसानका माग समयमै पूरा गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनीहरुले उखु किसानको मनोबल वृद्धि गर्न उनीहरुको माग पूरा गर्नुपर्ने र वार्ताको वातावरण तय गर्नुपर्नेमा जोड दिएका हुन् ।
सांसद गणेश पराजुलीले उखु किसानका माग समयमै सम्बोधन गर्न आग्रह गरे । उनले लिम्पियाधुरा नेपालकै रहेको प्रमाण रहेको उल्लेख गर्दै लिपुलेक मार्ग प्रयोग गर्न भारत र चीनबीच भएको सम्झौता गलत रहेको बताए । उनले यस विषयमा कूटनीतिक संवाद गर्न सरकारसँग आग्रह गरे ।
सांसद ज्ञानबहादुर शाहीले लिपुलेक र लिम्पियाधुराको विषयमा संयुक्त राष्ट्रसङ्घमा कुरा उठाउनुपर्ने बताए । उनले उखु किसानको अनुदान घटाइएको भन्दै उनीहरुको माग समयमै सम्बोधन गर्न आग्रह गरे । सांसद नारायणप्रसाद साउदले पनि उखु किसान अन्यायमा परेको भन्दै उनीहरुको बक्यौता रकम समयमै उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
सांसद अच्युतप्रसाद मैनालीले वन्यजन्तुको आक्रमणका कारण मानवीय क्षति तथा अन्नबाली क्षति भएको जिकिर गर्दै मानव–वन्यजन्तु द्वन्द्व घटाउन पहल गर्न सरकारलाई आग्रह गरे । 'बाघको सङ्ख्या बढे पनि बासस्थान चुनौती बनेको छ । बाघ बढेसँगै सर्वसाधारण आक्रमणमा परेका छन् । वन्यजन्तुको बासस्थान व्यवस्थित गर्नुपर्छ,' उनले भने ।
सांसद देवेन्द्र पौडेलले उखु किसानको अनुदान कटौती गर्न नहुनेमा जोड दिए । 'किसानले अनुदानमा मल पाउने कुरालाई पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्छ,' उनले भने । सांसद कृष्णकुमार श्रेष्ठले वन्यजन्तुले आक्रमण गर्न थालेपछि सर्वसाधारण सुरक्षित नरहेको भन्दै वन्यजन्तु नियन्त्रणमा सरकारले चासो नदिएको गुनासो गरे ।
सांसद नागिना यादवले काठमाडौँ महानगरपालिकाले गरेको तोडफोडविरुद्ध कबाडी व्यवसायी आन्दोलनरत रहेको उल्लेख गर्दै उनीहरुलाई वार्तामा बोलाएर माग सम्बोधन गर्न आग्रह गरिन् । सांसद प्रभु हजराले वीरगञ्जमा हैजा प्रकोप फैलिरहेको भन्दै समयमै त्यसको नियन्त्रण गर्न जोड दिए ।
सांसद शक्तिबहादुर बस्नेतले किसानले गत वर्ष पाउनुपर्ने करिब एक अर्ब ५० करोड रुपैयाँ भुक्तानी पाउन नसकेको जिकिर गर्दै आन्दोलनरत किसानका माग पूरा गर्न सरकार तत्पर रहनुपर्नेमा जोड दिए । सांसद प्रभु साहले कबाडी व्यवसायी र उखु किसानका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।
सांसद ठाकुरप्रसाद गैरेले ज्येष्ठ नागरिक र सामाजिक सुरक्षाअन्तर्गत सुविधा लिने नागरिक बायोमेट्रिकका लागि वडा कार्यालय धाए पनि ‘सर्भर डाउन’ भएको भन्दै उनीहरुले दुःख पाइरहेको बताए । 'त्यस्ता अशक्त नागरिकहरु चार दिनसम्म वडा कार्यालय धाउँदा पनि काम नभएको पाइयो, उनीहरुलाई घर–घर गएर सुविधा दिनुपर्छ,' उनले भने । सांसदहरु किरणकुमार साह, सूर्यमान तामाङ (दोङ) र शेरबहादुर कुँवरले पनि उखु किसानका माग सम्बोधन गर्नुपर्नेलगायत अन्य समसामयिक विषयमा धारणा राखे ।
