सीमा समस्या संवादबाट समाधान गर्नुपर्छ : अध्यक्ष दाहाल

विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले भारत भ्रमणमा मोदीले कालापानी, लिपुलेक, लिम्पियाधुरा समस्या समाधानको प्रतिबद्धता व्यक्त गरेको स्मरण गरे।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

Border problem should be solved through dialogue: President Dahal

मोरङ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कालापानी–लिपुलेकलगायतका सीमा समस्या आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहाले विगतमा कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्रतिबद्धता व्यक्त भएको स्मरण गरे । 

अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणको क्रममा सीमा समस्या समाधान नगरिकन छिमेकीसँगको सम्बन्ध सुमधुर हुन नसक्ने कुरा प्रष्टरूपमा राखेको उल्लेख गरे ।

उनले भने, 'पछिल्लो पटक प्रधानमन्त्रीका रूपमा भारत भ्रमणका अवसरमा आयोजित ‘प्रेस ब्रिफिङ’मा सीमा विवादका विषयमा चर्चा भएको र भारतीय प्रधानमन्त्री मोदीले सिमानाको समस्या जो बाँकी छ, त्यसलाई संवादद्वारा हल गरिन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।'

अध्यक्ष दाहालले छिमेकी मित्रराष्ट्र भारतसँग संवादको प्रक्रिया थालेर दुई देशबीचको सीमा समस्या हल गर्न सरकारलाई सुझाव दिए ।

कान्तिपुर

Link copied successfully