वामदेवको गुनासो : एकीकृत समाजवादीमा प्रवेश गरेको दुई महिनासम्म कुनै जिम्मेवारी पाइनँ

गौतमले पार्टीका नेताहरू जनतासम्म नगएकाले कार्यकर्तामा उत्साहको कमी भएको र जिम्मेवारी तोक्नुपर्नेमा जोड दिए।

भाद्र ९, २०८२

न्युज एजेन्सी नेपाल

Vamdev's complaint: I did not get any responsibility for two months after joining the Integrated Socialist Party

What you should know

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले पार्टीका नेताहरू काठमाडौँ केन्द्रित भएको भन्दै आलोचना गरेका छन् ।

काठमाडौँमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता गौतमले यस्तो बताएका हुन्। पार्टीका सबै शीर्ष नेता राजधानी उपत्यकामा मात्र रहने प्रवृत्तिका कारण संगठन कमजोर बनेको उनको भनाइ छ। उनले पार्टीका सबै सदस्यलाई कुनै न कुनै जिम्मेवारी तोक्नुपर्नेमा जोड दिए।

उनले पार्टीमा बसेर नीति र सिद्धान्त पालना नगर्ने नेताहरूलाई ‘नक्कली कम्युनिस्ट’ को संज्ञा दिए। सदस्यले समाजवाद बुझ्ने, समाजवाद निर्माणका लागि आजको परिस्थितिमा आवश्यक कार्य गर्ने र जनतासम्म पुग्ने जिम्मेवारी लिनुपर्ने आवश्यकता औँल्याए। पार्टीका शीर्ष नेताहरू जनतामाझ नगएसम्म कार्यकर्तामा उत्साह पैदा नहुने उनको भनाइ थियो।

गौतमले आफू पार्टीमा आबद्ध भएको दुई महिना पुग्दा समेत जिम्मेवारी नदिएको भन्दै गुनासोसमेत गरे। 

उनले भने, 'नेकपा (एकीकृत समाजवादी)का सबै नेता काठमाडौँ उपत्यकामै छन्। त्यसो भएपछि तल नेताहरू हुने कुरा भएन। यस्तो लागेको हुनाले ती नेताहरूलाई साथमा लिएर पार्टीले यस्तो निर्णय गरोस् कि प्रत्येक सदस्यले एउटा न एउटा जिम्मेवारी वहन गर्नुपर्छ। एउटा न एउटा कार्यक्षेत्र उसको हुनुपर्छ, किनभने कम्युनिस्ट पार्टीको सिद्धान्तले त्यही भन्छ। पार्टी सदस्यता पाएपछि प्रतिमहिना शुल्क तिर्नुपर्छ र जिम्मेवारी नजुध्ने गरी उसको छुट्टै कार्यक्षेत्र हुनुपर्छ। त्यस्तो नभए सबै नक्कली कम्युनिस्ट हुन्। जिम्मेवारी तोकिएको छैन भने तिनीहरू नक्कली कम्युनिस्ट नै हुन्।'

उनले थपे, 'हामी गर्ने काम भनेको सिद्धान्त बुझाउने, समाजवाद बुझाउने, समाजवाद निर्माण कसरी गर्ने, आजको परिस्थितिमा के गर्न जरुरी छ भन्ने उद्देश्य राखेर प्रत्येक व्यक्तिले काम गर्नुपर्छ, जनतामाझ जानुपर्छ। नीति र सिद्धान्त पालना गर्नुपर्छ। तर पार्टीका नेताहरू तल्लो तहमा गएर विरोधीका विचारलाई खण्डन गर्ने, त्यहाँका जनतालाई प्रेरित गर्ने काममा सक्रिय छैनन्, सबै ठूला नेताहरू काठमाडौँमै छन्।'

कम्युनिस्ट पार्टीहरू सिद्धान्तबिना चल्न नसक्ने उल्लेख गर्दै गौतमले अन्तरपार्टी संघर्ष आवश्यक रहेको बताए।

न्युज

Link copied successfully