‘विद्या भण्डारीलाई एमालेको मात्र होइन, देशको नेता बनाउने निर्णय हो यो, यो उहाँकै लागि पनि सम्मान हो ।’-भट्टराई
खोटाङ — एमाले नेता विशाल भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्कन नहुने निर्णय गरेर देशकै सम्मानित नेताका रूपमा राखिएको बताएका छन् । सोमबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले सम्मानित राष्ट्रपतिजस्तो पदमा पुगिसकेको व्यक्ति सक्रिय राजनीतिमा आउनु गणतन्त्रका लागि चुनौती र पार्टीका लागि पनि सुखद् नहुने बताए ।
साउन ५ देखि ७ गतेसम्म भएको एमालेको केन्द्रीय कमिटीको बैठकमा २ सय ४८ केन्द्रीय कमिटीका नेताहरूमध्ये बहुसंख्यकले राष्ट्रपतिलाई राजनीतिमा फर्कन उपयुक्त नहुने निर्णय गरेकाले अब विद्या भण्डारी पार्टीको सक्रिय राजनीतिमा नफर्कने भट्टराईले बताए । यो निर्णय पार्टीका लागि मात्र नभई भण्डारीकै लागि पनि सम्मान भएको भट्टराईको दाबी छ ।
‘गणतन्त्रको प्रतीकका रूपमा रहेको सम्माननीय राष्ट्रपतिको पदमा पुगेको व्यक्तिलाई नीतिगत रूपमा सक्रिय राजनीतिमा आउन हुँदैन भन्ने निर्णय गर्यो,’ भट्टराईले भने, ‘विद्या भण्डारीलाई एमालेको मात्र होइन, देशको नेता बनाउने निर्णय हो यो, यो उहाँकै लागि पनि सम्मान हो ।’
भण्डारीलाई सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा ल्याउन तल्लो तहमा समेत आवाज उठे पनि बहुमतले गणतन्त्रको प्रतीक, राष्ट्रको सर्वोच्च पदमा पुगेका व्यक्तिलाई सक्रिय राजनीतिमा फर्कन नहुने निष्कर्षमा पुगेको भट्टराईले बताएका छन् । ‘जिल्ला कमिटीमा पनि विद्या भण्डारीलाई राजनीतिमा ल्याउँदा के बिग्रन्छ भन्ने कुरा उठेको थियो, तल्लो कमिटीमा पनि उठेको थियो,’ भट्टराईले भने,‘अल्पमतको सम्मान गर्दै उठेको कुरालाई केन्द्रसम्म पुर्याउने छौं ।’
