राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ मा हुने

सभापति पद रिक्त भएको १५ दिनभित्र निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार सभामुखले सोमबार अन्तिम दिनमा निर्वाचन मिति तोकेका हुन्।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

The election of the Chairman of the State Order and Good Governance Committee will be held on August 11

What you should know

काठमाडौँ — राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ ।   सोमबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) अनुसार सभापति चयनका लागि ११ गतेका लागि निर्वाचन तोकिएको संघीय संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिए । 

उनका अनुसार समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार सोमबार अन्तिम दिन भएकाले सभामुखले निर्वाचन मिति तोकेका हुन् । प्रवक्ता गिरीले समिति सदस्यहरुमध्येबाट सभापति पदमा प्रस्ताव तथा समर्थन दर्ता गरिएका उम्मेदवारहरुको नाम समितिको ११ गते बस्ने बैठकमा प्रस्तुत गरिनेछ । सो बैठक समितिका जेष्ठ सदस्यले सञ्चालन गर्ने व्यवस्था छ । 

प्रतिनिधिसभा नियमावली २०७९ को व्यवस्थाबमोजिम कुनैपनि विषयगत समितिको सभापतिको पद रिक्त भएमा १५ दिनभित्र निर्वाचनमार्फत गरिसक्नुपर्ने भन्ने व्यवस्था छ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको पदको निर्वाचनको लागि सभामुखको आदेशबमोजिम सूचना प्रकाशित भएको छ ।

उक्त सूचनाअनुसार समिति सदस्यहरूमध्येबाट सभापति पदमा निर्वाचित गरियोस् भनेर कुनै सदस्यलाई कुनै अर्को सदस्यले प्रस्ताव तथा कुनै एक सदस्यले समर्थन गरेर प्रस्ताव तथा सूचना दर्ता गर्नुपर्छ । यसरी प्राप्त हुने प्रस्तावलाई दर्ता गरेर ११ गते बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रस्तुत गरिन्छ । उक्त बैठक समितिका ज्येष्ठ सदस्यले सञ्चालन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

कुलिङ अफ पिरियड छेड्खानी प्रकरणमा नैतिक र राजनीतिक जिम्मेवार ठहरभएको छानबिन समितिको निष्कर्षपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully