मदन भण्डारी महासचिव चुनिएको त्यो गाउँ : जहाँ नेता पुग्छन्, विकास पुग्दैन

आश्वास र वाचाका कुरा सुनेर आफूहरू थाकिसकेको सुनाउँछिन् स्थानीय ७५ वर्षीया बुद्धमाया राई । ‘यो ठाउँको विकास गर्ने नियत कसैको पनि देखिएन, नभए अहिले सबैतिर एमालेकै सरकार छ, विकास गर्न केले रोकेको छ ?,’ उनी भन्छिन् ।

भाद्र ९, २०८२

विनय आजाद

That village where Madan Bhandari was elected general secretary: Where leaders reach, development does not reach

What you should know

सिरहा — पञ्चायतविरुद्ध संघर्ष गर्दा तत्कालीन नेताहरूले जेलनेल मात्रै भोग्न परेन, राज्य आतंकका कारण वनबासझैं सुनसान पहाड अनि जंगलमा लुकीलुकी बसे । त्यतिबेला आन्दोलनकारी बसेका धेरै ठाउँ अहिले बस्तीमा परिणत भएका छन् । त्यसैमध्येको एक हो, सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रेअम्बास राइरैनी ।

चुरे पहाडको बीचमा अवस्थित यो गाउँमा भूमिगतकालमा स्वर्गीय कम्युनिस्ट नेता मदन भण्डारी लामो समय बसेका मात्रै थिएनन् तत्कालीन नेकपा मालेको पहिलो पटक महासचिव पनि चुनिएका थिए ।

२०४६ भदौ ९ देखि १४ गतेसम्म चलेको चौथो महाधिवेशनबाट भण्डारीको नेतृत्वमा २० सदस्यीय केन्द्रीय समिति चयन भएको थियो । जसमा माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता पोलिटब्युरो सदस्य, केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेललगायत नेता केन्द्रीय सदस्य निर्वाचित भएका थिए । चौथो महाधिवेशन सर्रेअम्बास राइरैनीस्थित खपडाले छाएका काठैकाठको एउटा घरमा भएको थियो । महाधिवेशनकै झल्को दिने गरी सोही घरमा ३४ वर्षपछि गत २०८० भदौ १३ मा एमालेको सचिवालय बैठक बस्यो । जसमा एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री ओलीसहित एमालेका सबैजसो केन्द्रीय नेता सहभागी थिए ।

That village where Madan Bhandari was elected general secretary: Where leaders reach, development does not reachयसरी औपचारिक रूपमा मात्रै होइन, अनौपचारिक रूपमा पनि यहाँ एमालेका ठूल्ठूला नेताहरूको आउजाउ भइरहन्छ । स्थानीयका अनुसार भण्डारी पत्नी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि यहाँ परिवारसहित धेरै पटक आएकी छिन् । तर, भीभीआईपी आइरहने यो ठाउँको अवस्था भने कहालीलाग्दो छ । जतिबेला मदन भण्डारीलगायतका नेताहरु बसेका थिए, त्यतिखेर यहाँ खासै घर थिएनन् । अहिले बस्ती बाक्लिए पनि स्थानीयका दुःख भने यथावत् छन् ।

झन्डै दुई दर्जन परिवार रहेको यो बस्तीका बासिन्दा सामान्य आधारभूत आवश्यकता पनि वञ्चित छन् । यहाँको मुख्य समस्या भनेको बाटो हो । बस्तीको बीचैबाट बग्ने सर्रे खोला नै स्थानीयको आउजाउ गर्ने मूल बाटो हो । केही वर्षअघि स्थानीयले चन्दा संकलन गरी आफैं खटिएर चुरेमाथि पैदल र मोटरसाइकलमा हिँड्न मिल्ने अस्थायी बाटो बनाएका थिए । तर, पहिरो गएर लामो समयदेखि त्यो बाटो अवरुद्ध रहेको स्थानीय भरत थापाले बताए । खोला हुँदै आउजाउ गर्ने स्थानीय बाढी आउँदा गाउँमै थुनिनुपर्ने स्थिति बन्छ ।

पैदल वा साइकल, मोटरसाइकल चढेर जान अनेक सास्ती र जोखिम झेल्नुपर्ने यो बस्तीमा एम्बुलेन्स जाने त कुरै भएन । पछिल्लो समय जिरोमाइलस्थित पूर्वपश्चिम राजमार्गदेखि मदन मण्डारी राजमार्गसम्म कालोपत्र सडक निर्माण हुँदैछ । यहीँ सडकखण्डमा पर्ने बिहीबारेस्थित सर्रे खोलामा पैदल र मोटरसाइकल चल्न मिल्ने ट्रस पुल छ । थापाका अनुसार यो बस्तीका कोही गम्भीर बिरामी पर्दा आधा घण्टासम्म हिँडेर यो पुलपारिसम्म बोकेरै पुर्‍याउनुपर्छ । ‘कति मान्छे त समयमै उपचार पाउन नसकेर ज्यान गुमाए, कति बाटामा लडेर घाइते भए,’ थापा भन्छन्, ‘हाम्रो मूल समस्या बाटोकै हो, बनाइदिन्छौं भन्नेहरू आइरहन्छन्, तर हामीले धोका मात्रै पायौं ।’

That village where Madan Bhandari was elected general secretary: Where leaders reach, development does not reachयहाँको अर्को ठूलो समस्या खानेपानीको हो । स्थानीय अझै पनि इनारको दूषित पानी खान बाध्य छन् । त्यो इनार पनि सुक्खा परेका बेला सुक्ने गर्छ । सबैतिर गुहार्दा पनि खानेपानीको समस्या समाधानका लागि कतैबाट ठोस पहल नभएको स्थानीय जमुना सुनुवार बताउँछिन् । पछिल्लो समय यहाँ बिजुली जडान भए पनि कतिखेर जाने र आउने टुंगो हुँदैन । ‘कहिले एक घण्टा आउँदा दुई घण्टा कट्छ, अरुतिर बिजुली हुँदा हाम्रोमा कहिलेकाहीँ दुई दिनसम्मै आउँदैन,’ स्थानीय ओम सुनुवारले भने, ‘एक त यो बस्ती त्यसै जंगलजस्तो लाग्छ, राति गरी पनि बिजुली नहुँदा हामी त्रासमा बाँच्छौं ।’

यो बस्तीमा एउटा सामुदायिक विद्यालय छ । जुन विद्यालयको नाम भण्डारीकै नामबाट राखिएको छ, अर्थात् मदन भण्डारी स्मृति माध्यमिक विद्यालय । कक्षा १० सम्म पढाइ हुने यो विद्यालय सीमित जनशक्तिको भरमा चल्दै आएको छ । विद्यालयमा ९ जना शिक्षक कर्मचारी छन् । जुन पर्याप्त नरहेको विद्यालयले जनाएको छ । जबकि पूर्वराष्ट्रपति भण्डारीले स्वयं आएर विद्यालयमा छात्रावास बनाइदिने र नमुना विद्यालयका रूपमा विकास गर्ने वाचा गरेकी थिइन् । एमालेको सचिवालय बैठकका बेला आउँदा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यले पनि विद्यालयको कोषमा ३ लाख रुपैयाँ सहयोग गर्ने वाचा गरेकी थिइन् । तर, त्यो पैसा पनि अहिलेसम्म नआएको विद्यालयका प्रअ राजेन्द्रबहादुर मगरले बताए ।

That village where Madan Bhandari was elected general secretary: Where leaders reach, development does not reachआश्वास र वाचाका कुरा सुनेर आफूहरू थाकिसकेको सुनाउँछिन् स्थानीय ७५ वर्षीया बुद्धमाया राई । ‘यो ठाउँको विकास गर्ने नियत कसैको पनि देखिएन, नभए अहिले सबैतिर एमालेकै सरकार छ, विकास गर्न केले रोकेको छ ?’ उनी भन्छिन्, ‘वाचा कसम सुनेरै अब संसार छाड्ने उमेर भइसक्यो, छोरानातिको जीवन पनि यसैगरी जाने हो कि भन्ने चिन्ता हुन्छ ।’

भौगोलिक हिसाबले विकट रहेको यो ठाउँको विकासका लागि ठूलो बजेट चाहिने तर यसका लागि माथिल्ला तहबाट खासै सहयोग नपाउँदा कठिनाइ भइरहेको गुनासो वडाध्यक्ष अमित ठकुरी गर्छन् । ‘वडामा सीमित स्रोतसाधन हुन्छ, हामीले सकेको कुरा गरेका छौं, तर यहाँ ठूलो बजेट चाहिन्छ,’ उनले भने, ‘यहाँ आइरहने नेताहरूले चाहने हो भने दुई महिनामा यो ठाउँ बन्छ, तर सहयोग नै भएन ।’ 

That village where Madan Bhandari was elected general secretary: Where leaders reach, development does not reachनगर प्रमुख शिवशंकर महतो भने सबै कुरा तुरुन्तै नहुने बताउँछन् । ‘त्यहाँ बिजुली गएको छ, त्यहीँ ठूलो कुरा हो, खानेपानीको सन्दर्भमा अहिले इनारकै पानी खानुपर्छ, अरु विकल्प छैन,’ उनले भने, ‘बाटाघाटालगायत अरु विषयमा हामीले काम गरिरहेका छौं, तुरुन्तै सबै कुरा हुँदैन ।’

That village where Madan Bhandari was elected general secretary: Where leaders reach, development does not reach

That village where Madan Bhandari was elected general secretary: Where leaders reach, development does not reach

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully