सुगौली सन्धिलाई आधार मानेर नै नेपालको सीमा निर्धारण गरिएको भन्दै उनले सुगौली सन्धिले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको दाबी गरे ।
दाङ — एमाले महासचिव शंकर पोखरेलले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे भारत र चीनको कदम गलत भएको बताएका छन् ।
प्रेस चौतारी दाङले शनिबार बिहान घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाललाई बेवास्ता गरी सीमामाथि बलमिच्याइँ गर्नु उचित नहुने बताए ।
सुगौली सन्धिलाई आधार मानेर नै नेपालको सीमा निर्धारण गरिएको भन्दै उनले सुगौली सन्धि अनुसार नै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको दाबी गरे ।
भारतले एकतर्फी रूपमा सीमामा नेपालको दाबी नपुग्ने भनी सार्वजनिक गर्न नहुने बताउँदै उनले दुई पक्ष बसेर मात्र यसको टुंगो लगाउनुपर्ने धारणा व्यक्त गरे ।
नेपालले वार्तामार्फत नै समस्या समाधान गर्न खोजे पनि भारत तयार नहुँदा विवाद कायम रहेको पोखरेलले बताए । ‘हामी वार्तामा बसेर प्रमाण पेश गर्न चाहन्छौं । हामी द्वन्द्व गर्न चाहन्नौं,’ उनले भने, ‘प्रमाणका आधारमा आफ्नो भूमि स्पष्ट पार्न चाहन्छौं । एकतर्फी दाबी गरेर विवाद टुंगिँदैन ।’
पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबारे बोल्दै राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतिक विवादमा आउन नहुने बताए । माओवादी केन्द्रले पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा ल्याउने निर्णय गरेर गलत गरेको भन्दै उनले उक्त निर्णय सच्याउनुपर्ने विचार व्यक्त गरे ।
