दिगो समृद्धिको आधार दक्ष जनशक्ति : मन्त्री खड्का

मन्त्री खड्काले केवल परम्परागत शिक्षा पर्याप्त नहुने स्पष्ट पार्दै प्राविधिक सीप र व्यावहारिक ज्ञानबिनाको श्रम बजार प्रतिस्पर्धात्मक नहुने बताए ।

भाद्र ६, २०८२

दीपेन्द्र शाक्य

Skilled manpower is the basis of sustainable prosperity: Minister Khadka

संखुवासभा — ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपालको दिगो समृद्धिको आधार दक्ष जनशक्ति भएको बताएका छन् ।

संखुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा सम्पन्न '२० दिने पावर हाउस अपरेसन एन्ड मेन्टेनेन्स तालिम'को समापन कार्यक्रममा शुक्रबार उनले केवल परम्परागत शिक्षा पर्याप्त नहुने स्पष्ट पार्दै प्राविधिक सीप र व्यावहारिक ज्ञानबिनाको श्रम बजार प्रतिस्पर्धात्मक नहुने बताए ।

मन्त्री खड्काले त्रिदेशीय सीमा क्षेत्रसँग जोडिएको संखुवासभाले पर्यटन र प्राकृतिक स्रोतसाधनका माध्यमबाट अर्बौँ रुपैयाँ राजस्व आर्जन गर्ने सम्भावना बोकेको उल्लेख गरे ।

उनले निकट भविष्यमै जिल्लामा सीटीईभीटी कार्यालय र आयुर्वेद अस्पताल स्थापना हुने जानकारीसमेत दिए ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्य–सचिव महेश भट्टराईले तालिममार्फत सीप प्राप्त गरेका युवालाई आगामी दिनमा जलविद्युत् आयोजनामा इन्टर्नसिपका अवसर दिलाउन आग्रह गरे ।

त्यस्तै, खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले आत्मनिर्भर जिल्ला निर्माणका लागि सीपमूलक तालिमलाई नियमित र निरन्तर आवश्यक रहेको बताए ।

तालिममा सहभागी युवाले प्राप्त ज्ञान र सीपले रोजगारीसँगै उद्यमशीलता अघि बढाउने आत्मविश्वास बढेको अनुभव सुनाए ।

दीपेन्द्र

Link copied successfully