राजनीतिक दलहरूभित्र विकृति, विसंगति फस्टायो : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति भण्डारीले सरकार र दलहरूले विकृति र विसंगति समाधान गर्न नसकेको दाबी गर्दै संसद्लाई निरीह थलोको संज्ञा दिइन्।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

Distortion and inconsistency flourished within political parties: Former President Bhandari

What you should know

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूभित्र विकृति, विसंगति फस्टाएको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले राजनीतिमा रहेको विकृतिलाई समाधान गर्न राजनीतिक दलहरूले नसकेको बताइन् ।

उनले सरकारले सुशासन प्रवर्वद्धन गर्न नसकेको भन्दै राजनीतिक दल अहिलेको प्रणालीअनुसार अघि बढ्न नसकेको बताइन् । संसद् अहिले निरीह थलो भएको उनले बताइन् । उनले कानूनहरू समयानुकूल कस्तो बनाउनुपर्ने भन्ने कुरामा ध्यानपूर्वक अध्ययन नै नभएको जिकिर गरे ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘राजनीतिक दलहरूभित्र विकृति, विसंगति फस्टाएको छ। त्यो पनि फस्टाइरहेको छ। त्यसलाई समाधान गर्न सकिरहेका छैनन्। सुशासन प्रवर्द्धन गर्न सकिरहेका छैनन्। राजनीतिक दल एउटा प्रणालीमा जसरी जानुपर्ने हो, त्यो जान सकेका छैनन्। राज्यका संयन्त्रहरू पनि जुन प्रणालीमा सञ्चालन हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन। अहिले संसदीय अभ्यासको कुरा गर्दा संसद् नै एउटा निरीह थलो भएर बसिरहेको छ। कानूनहरू समयानुकूल कस्तो बनाउनुपर्ने भन्ने कुरामा ध्यानपूर्वक अध्ययन गरिरहेको छैन।' 

ठूला दलहरूले आफैंले अहिलेको संविधानमा प्रश्न उठाएर संविधान संशोधन गर्ने सहमति गरे पनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन नसकेको बताइन् ।

उनले भनिन्, 'ठूला दलहरूले आफैंले अहिलेको संविधानमा प्रश्न उठाए र संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन् तर पनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन सकिरहेको छैन। कुनै व्यक्तिलाई केही आरोप लाग्यो, पुष्टि भएको छैन, ऊ बोल्न पाउँदैन, निलम्बित भइहाल्छ—के यही हो न्याय? कसैले आरोप लगायो भन्दैमा जनप्रतिनिधिहरू निलम्बनमा परिहाल्ने व्यवस्था कस्तो लोकतन्त्र हो? कुनै आरोप पुष्टि नहुन्जेलसम्म निलम्बनमा पार्नु राम्रो होइन।’

पूर्वराष्ट्रपति भण्डारीले शिक्षा सम्बन्धी समस्या नेपालमा ठूलो समस्या रहेको बताइन् ।

कान्तिपुर

Link copied successfully