शेरबहादुर देउवापछि कांग्रेसको सभापति शशांक कोइराला : उर्जामन्त्री खड्का

'प्रतिस्पर्धा हुन्छ, तर शेरबहादुर देउवापछि डा. शशांक कोइराला नै पार्टी सभापति बन्नुहुन्छ,' उनले भने, 'पार्टीको महामन्त्री भइसकेका मान्छे, पार्टी कसरी चलाउने ज्ञान उहाँसँग छ ।'

भाद्र ५, २०८२

विनय आजाद

After Sher Bahadur Deuba, Congress Chairman Shashank Koirala: Energy Minister Khadka

सिरहा — उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शेरबहादुर देउवापछि कांग्रेसको सभापति शशांक कोइराला बन्ने दाबी गरेका छन् । लहानमा बिहीबार आयोजित प्रदीप गिरीको तेस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 शशांक योग्य व्यक्ति भएको र उनी पार्टी निर्माता बीपी कोइरालाको पुत्र भएकोले उनको स्वाभाविक हक लाग्ने मन्त्री खड्काले बताए । 'प्रतिस्पर्धा हुन्छ, तर शेरबहादुर देउवापछि डा. शशांक कोइराला नै पार्टी सभापति बन्नुहुन्छ,' उनले भने, 'पार्टीको महामन्त्री भइसकेका मान्छे, पार्टी कसरी चलाउने ज्ञान उहाँसँग छ ।'

शशांकको बारेमा टीकाटिप्पणी हुने गरे पनि उनी निष्कलंक व्यक्ति भएको जिकिर उनले गरे । 'उहाँको बारेमा टीकाटिप्पणी हुन्छ, तर उहाँ निष्कलंक व्यक्ति हो,' उनले भने, 'आजैका मितिदेखि तयारीमा लाग्न म उहाँलाई आग्रह गर्न चाहन्छु ।'

यस्तै, मन्त्री खड्काले सरकार जनताप्रति उत्तरदायी भएर काम गरिरहेको दाबी पनि गरे । 'सरकार जनताप्रति उत्तरदायी भएर काम गरिरहेको छ,' उनले भने, 'सत्तामा आउन छट्पटाइरहेका मान्छेहरूले मात्रै सरकारबारे गलत टिप्पणी गरेका हुन् ।'

मन्त्री खड्काले प्रदीप गिरीले देखाएको बाटोमा हिँड्न नेता कार्यकर्ताहरूलाई आग्रह पनि गरे । 'उहाँको अभाव मुलुकलाई सधैं खड्किरहनेछ, किनकि उहाँ युगले जन्माएको व्यक्ति हुनुहुन्थ्यो,' उनले भने, 'त्यसैले हामी उहाँले देखाएको बाटोमा हिँड्न आवश्यक छ ।'

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully