प्रतिनिधिसभाको बैठकमा दुई दलीय प्रणाली अनुपयुक्त भएको तर्क गर्दै, बस्नेतले यसले एकदलीय व्यवस्थातर्फ धकेलिने चेतावनी दिए।
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सत्तारूढ दलहरू दुई दलीय व्यवस्थाको अभ्यासतर्फ उन्मुख भएको आरोप लगाए ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक विविधतामा दुई दलीय प्रणाली अनुपयुक्त हुने तर्क गरे । उनले दुई दलीय प्रयोग अन्ततः एकदलीय व्यवस्थातर्फ धकेलिने उल्लेख गर्दै सत्तारूढ दलहरूको दुई दलीय मिसन नेपाली जनताले पूरा हुन नदिने टिप्पणी पनि गरे ।
उनीले भने, ‘सत्तारूढ दलहरू दुई दलीय व्यवस्थाको मिसनमा हिँडिरहेको देखिन्छ । नेपालजस्तो बहुवर्गीय सामाजिक तथा आर्थिक हिसाबले विविधतायुक्त समाजमा यो दुई दलीय व्यवस्था न त सैद्धान्तिक रूपमा ठिक छ न त व्यवहारिक रूपमा उपयुक्त हुन्छ । यो दुई दलीय व्यवस्थाको मिसन अन्ततः एकदलीयमा पुग्ने होला । प्रमुख दुई दलमध्ये त्यो अवसर कसले प्राप्त गर्ने हो, त्यो उनीहरूले नै सोचिरहनुभएको होला । तर नेपाली जनताले उनीहरूको यो मिसन पूरा हुन दिने छैनन् ।’
बस्नेतले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास सामाजिक न्याय र समावेशी अनुकूल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
