कांग्रेसभित्र ठूलो आत्मविश्वास र शुद्धता चाहिएको छ : गगन थापा

महामन्त्री थापाले कांग्रेसलाई अहिले आत्मविश्वास र शुद्धतामा जोड दिँदै राष्ट्रिय शक्ति निर्वाचन परिणामले मात्र निर्धारण नहुने बताए।

भाद्र ४, २०८२

कान्तिपुर संवाददाता

Greater confidence and purity is needed in the Congress: Gagan Thapa

What you should know

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र ठूलो आत्मविश्वास आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौंमा नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उनले कांग्रेस पार्टीभित्र आत्मविश्वासको आवश्यकता अझ बढेको उल्लेख गरे ।

नेपाली कांग्रेस नेपालको राष्ट्रिय शक्ति भएको कुरा पार्टीले कहिल्यै बिर्सन नहुने भन्दै उनले कांग्रेस चुनाव नलडेको बेला पनि राष्ट्रिय पार्टी भएको स्मरण गराए ।

राष्ट्रिय शक्ति भनेको निर्वाचनको परिणामले मात्र निर्धारण नहुने बरु राष्ट्रका चुनौतीहरू बुझ्ने, छाम्ने, पर्गेल्ने र सम्बोधन गर्ने तागत राख्ने पार्टी नै राष्ट्रिय पार्टी हुने उनले बताए । अहिले देशमा ठूलो असन्तुष्टि रहेको भन्दै उनले नेपाली समाजलाई त्यसबाट बाहिर निकाल्नु कांग्रेसको जिम्मेवारी भएको बताए ।

थापाले भने, ‘नेपाली कांग्रेस पार्टीभित्र ठूलो आत्मविश्वास अहिले चाहिएको छ । हामी नेपालको राष्ट्रिय शक्ति हौँ भन्ने कुरा बिर्सनु हुँदैन । राष्ट्रिय पार्टी निर्वाचनको परिणामले मात्र निर्धारण गर्दैन । पञ्चायतकालमा हामीले चुनाव लडेका थिएनौं, राजाले गराएको चुनाव पनि लडेका थिएनौं । २०६५ मा माओवादीसँग चुनाव हारे पनि कांग्रेस राष्ट्रिय शक्ति नै हो । राष्ट्रिय शक्ति भनेको राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो चुनौति बुझ्ने, पर्गेल्ने र सम्बोधन गर्ने सामर्थ्य हो । आज नेपाली समाजमा चरम असन्तुष्टि छ । त्यसलाई सम्बोधन गरेर अघि बढ्नु हाम्रो जिम्मेवारी हो । त्यसका लागि कांग्रेसलाई आत्मविश्वास र शुद्धता चाहिन्छ ।’

महामन्त्री थापाले सत्ता र शक्तिमा पुग्नका लागि आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त गरिएको सत्ताको अर्थ नरहने स्पष्ट पारे ।

कान्तिपुर संवाददाता

Link copied successfully