एमालेभित्रको असन्तुष्टिबीच भण्डारीको निरन्तर भेटघाट र राजनीतिक गतिविधिले नयाँ मोड लिँदैछ।
What you should know
काठमाडौँ — एमाले केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा आउन रोक्ने निर्णय गर्यो । तर भण्डारीलाई भने त्यो निर्णयले रोक्न सकेको छैन । एमालेको 'निषेध'का बाबजुद भण्डारी पुनः सक्रिय बन्न थालेकी छन्।
एमाले पूर्वउपाध्यक्ष लेखेरै भण्डारीले सुरुवाती चरणमा पार्टी निर्णयको विरोध गर्दै विज्ञप्ति जारी गरिन् । त्यसयता उनी लामो समय मौनजस्तै देखिइन् । आफू राजनीतिमा उत्रिएको सन्देश दिन उनी पुनः विराटनगर ओर्लिइन् सोमबार। विराटनगर उनको राजनीतिक आधार इलाका पनि हो । त्यही भएर सात महिनामा उनी तेस्रो पटक विराटनगर ओर्लिइसकेकी छन्।
सोमबार उनी विराटनगरमा आयोजित 'उद्घोष' दैनिकको २१औँ वार्षिकोत्सवमा सहभागी भइन् । औपचारिक कार्यक्रम बाहिर पनि उनले राजनीतिक भेटघाट र संवादलाई निरन्तरता दिइन् । भण्डारीको भेटघाटको व्यवस्थापन एमालेभित्र संस्थापनइतर धारका नेता विनोद ढकालले मिलाएका छन्।
एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य ढकाल स्वयं कोशी प्रदेश अध्यक्षमा पराजित भएयता प्रमुख भूमिकामा नभए पनि विराटनगरलगायत क्षेत्रमा उनको नेतृत्वमा संस्थापनइतर धार बलियो बनेको छ।
भण्डारीले तिजको अवसर पारेर एमाले केन्द्रीय नेताहरू, अखिल नेपाल महिला संघका पदाधिकारी र सदस्यहरूसँग भेट्ने तयारी गरेको उनका निकट नेताहरूले बताएका छन् । भदौ ६–७ गते दरका बहानामा भेटघाट र राजनीतिक संवाद गर्ने उनको कार्यक्रम तय भएको छ । त्यसपछि भदौ दोस्रो सातातिर वीरगञ्जमा महिला उद्यमीहरूसँगको भेलामा समेत सहभागी हुने तय छ। उनी मंगलबार दिउँसो काठमाडौँ फर्किने कार्यक्रम छ।
एमालेभित्र बढ्दो असन्तोष
भण्डारीलाई निष्क्रिय बनाउन गरिएको निर्णय एमालेभित्रै प्रश्नको घेरामा परेको छ । विधान महाधिवेशनलाई लक्ष्य गरी प्रदेश कमिटी बैठकहरू भइरहेका बेला कोशीदेखि बागमती र कर्णालीसम्म ‘भण्डारीलाई रोक्नु ठीक भएन’ भन्ने आवाज उठिरहेको छ।
यही क्रममा साउनको अन्तिम साता धनकुटाको हिलेमा सम्पन्न कोशी प्रदेशको बैठकमा पनि यसै विषयमा होहल्ला र नाराबाजी भएको थियो। प्रदेश सदस्य रोशन बस्नेत, डीबी कार्की, अञ्जु पाण्डे, भोजपुर अध्यक्ष मकर खड्कालगायतका भण्डारी पक्षधर नेताहरू अन्तरपार्टी निर्देशन (अपानि) को ६ नम्बर बुँदा सच्याउन माग गर्दै कडा रूपमा प्रस्तुत भए। सो बुँदामा ‘भण्डारीको सदस्यता नवीकरण नगर्ने’ उल्लेख छ।
थकित भण्डारी
गत माघयता भण्डारी तीन पटक विराटनगर आइसकिन् । पहिलो पटक माघ १४ मा आएका बेला करिब एक साताको बसाइमा उद्घाटन तथा शिलान्यास कार्यक्रममै व्यस्त भइन्। दोस्रोपटक जेठ २३ मा आइन्। उनी त्यसबेला मोरङमा मात्रै सीमित भइनन्; मावा र कनकाई खोला पार गरेर विराटमोडसम्म पुगिन् । यसपटक उनको अनुहार अघिल्ला भ्रमणजस्तो चम्किलो देखिएन, बरु मलिन र थकित देखिन्थ्यो।
सदस्यता नवीकरण रोकिनु नै उनको थकानको मुख्य कारण हो भन्ने बुझिन्छ । तर, सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अझै आफू एमालेकै कार्यकर्ताको भूमिकामा रहेको प्रस्ट पारिन् । 'म नेकपा एमालेकै हुँ । एमाले भएर राष्ट्रपति बनेकी हुँ, मेरो सदस्यता कसैले खोसेको छैन,' उनले भनिन्, 'राष्ट्रपति हुँदा पनि म ३५ वर्षदेखि सदस्य थिएँ । अहिले ४५ वर्ष पूरा भइसकेको छ।'
एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गते ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा हुँदैछ । तर, सदस्यता नवीकरण नभएकाले भण्डारी त्यसमा सहभागी हुने छैनन्। उनी मात्र होइन, नेकपा एकीकृत समाजवादी छाडेर केही समयअघि प्रवेश गरेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेलगायतलाई पनि मताधिकार दिइने छैन ।
तर, एमालेभित्रै बढ्दो असन्तोष, भण्डारीकै निरन्तर भेटघाट र आगामी विधान महाधिवेशन नजिकिँदै गर्दा उनको राजनीतिक भविष्यले कस्तो मोड लिन्छ भन्ने प्रतीक्षा आम चासोको विषय बनेको छ।
