रञ्जितालाई अध्यक्ष मानेर अघि बढ्न नसकिने भनिसकेको पृष्ठभूमिमा अब रेशमको समूह बेग्लै पार्टी गठन गरेर अघि बढ्नेबारे छलफलमा छ ।
What you should know
धनगढी — निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा रञ्जिता श्रेष्ठ नै अध्यक्ष रहेको निर्णय गरेपछि पार्टी संरक्षक रेशम चौधरी समूह नयाँ रणनीतिमा जुटेको छ । उनीहरु आगामी बाटो तय गर्ने छलफलमा छन् ।
रेशम समूहले यही साउन १४–१५ गते राष्ट्रिय भेला गर्दै रञ्जिता श्रेष्ठलाई अध्यक्ष मात्रै होइन, पार्टीको साधारण सदस्यबाटसमेत हटाएर लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेको थियो ।
साउन १८ गते अध्यक्ष घोषित लालवीरले पार्टीका पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए । यता, रञ्जिताले पनि सोही दिन राष्ट्रिय भेला अवैधानिक रहेको र आफू नै अध्यक्ष रहेको भन्दै आयोगमा ध्यानाकर्षण पत्र दिएकी थिइन् । आयोगले मंगलबार लालवीरलाई अध्यक्षमा वैधता नदिने निर्णय गरेपछि रेशम समूह नयाँ रणनीति बनाउन जुटिरहेको हो ।
यसअघि ०८० पुस २६ गते टीकापुरमा भएको नाउपाको पहिलो राष्ट्रिय महाधिवेशनबाट रेशम आफै अध्यक्ष बनेका थिए । तर उनकै श्रीमती रञ्जिताले फौजदारी अभियोका रेशम अध्यक्ष बन्न नसक्ने दाबी गर्दै निर्वाचन आयोगसमक्ष निवेदन दिएपछि आयोगले टीकापुर महाधिवेशनसहित रेशमको अध्यक्षतालाई अवैधानिक भनेको थियो ।
राष्ट्रिय भेला र त्यसको निर्णयलाई आयोगले अवैधानिक भनेपछि नाउपामा उत्पन्न पछिल्लो घटनापछि संरक्षक एवं हर्ताकर्ता मानिएका रेशमले भने अब नाउपामै राजनीति गर्न आफ्नो नैतिकताले नदिने प्रतिक्रिया दिएका छन् । ‘मेरा लागि नाउपा गौण भएर गएको छ । अहिलेकै नेतृत्वसँग सहकार्य गरेर अघि बढ्ने विकल्प समाप्त भएर गएको छ,’ रेशममले कान्तिपुरसँग भने, ‘वर्तमान नेतृत्वबाट पार्टी चलेन, चल्दैन । उहाँहरुले पार्टी हत्याउने खेल मात्रै खेल्नुभयो । मलाई त हत्यारासमेत भन्न भ्याउनुभयो ।’
आफू मुद्दा र पहिचानको राजनीतिबाट उठेको बताउँदै उनले राजनीतिबाट टाढा नभाग्ने बताए । ‘मेरा पक्षमा नाउपाका नेता कार्यकर्ताहरु धेरै लडेका छन्, धेरै दु:ख पाएका छन्, उनीहरुप्रति म आभारी छ,’ रेशमले भने, ‘जनताका बीचमै छौं, जनताकै मनमा छौं, अब नयाँ विकल्पका साथ अघि बढ्छौं ।’
आफूलाई परिवारवादको आरोप पनि लागेको उनको भनाइ छ । कहिल्यै श्रीमती त कहिलै बुवालाई अध्यक्ष बनाएको भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको भन्दै उनले त्यसलाई चिरेर अघि बढ्ने बताए । राष्ट्रिय भेलाबाट अध्यक्ष घोषणा गरिएका लालवीर रेशमका बुवा हुन भने रञ्जिता श्रीमती । रेशमको पछिल्लो कदमलाई धेरैले उनको परिवारवादी विचार भनेर पनि आलोचना गरेका थिए । रञ्जिताको विकल्पमा रामलाल डगौरा र संसदीय दलका नेता गंगाराम चौधरीले पनि अध्यक्षको दाबी गरेका थिए । तर रेशमले बुवालाई बनाउने लिएको निर्णय अगाडि उनीहरु झुकेका थिए । यतिबेला रेशम दम्पतीबीचको विग्रह उत्कर्षमा पुगेपछि रेशम समूहले राष्ट्रिय भेला नै आयोजना गरेर रञ्जितालाई हटाउने निर्णय गरेको थियो ।
राष्ट्रिय भेलाका संयोजक रामलाल डगौरा थारुले आयोगको निर्णयपछि कसरी अगाडि बढ्ने भनेर आन्तरिक छलफल भइरहेको बताए । ‘अब कसरी अगाडि बढ्ने भन्नेमा छलफल भइरहेको छ,’ पार्टीमा निर्वाचन एवं अनुशासन आयोगको संयोजकसमेत रहेका डगौराले भने, ‘अब अस्तिको जस्तै बैठक गरेर निर्णय लिन्छौं ।’
नाउपामा अध्यक्षसहित २१ जना केन्द्रीय सदस्य छन् । तीमध्ये राष्ट्रिय भेलाका बेला १३ जना रेशमका पक्षमा उभिएका थिए । अध्यक्ष रञ्जिता अल्पमतमा थिइन् ।
त्यसअघि पार्टीभित्र किचलो बढ्दै गएका बेला रञ्जिताले शिव बास्तोलालाई कार्यवाहक तोकेकी थिइन् । रेशम–रञ्जिता विवाद उत्कर्षमा रहेकै बेला पछिल्लो समय रञ्जिता पोखराको लिचीघारी जग्गा प्रकरणमा मुछिएकी छिन् । त्यही मौकामा रेशम पक्षधरले केन्द्रीय कमिटीको बैठक बोलाउन गरेको आग्रहलाई रञ्जिताले नटेरेपछि उनीहरुले राष्ट्रिय भेला आयोजना गरेर उनलाई साधारण सदस्यबाटसमेत हटाउने निर्णय गरेका थिए । तर आयोगले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षमा निहीत रहेको भन्दै रेशम पक्षधरको निर्णयलाई मान्यता दिएन ।
राष्ट्रिय भेलामा रेशम पक्षमा खुलेका सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी रेशम-परिवारको शक्ति संघर्ष, आन्तरिक खिचातानी र महात्वाकांक्षाका कारण नाउपाको राजनीतिक धरातल खस्केको बताउँछन् । ‘अहिले अलमल छ, आक्रोशित भएर तत्काल कुनै अप्रिय कदम दुवै पक्षले नउठाउनु नै पार्टी हितमा छ । रेशममाथि परिवारवादको ट्याग लागेको छ, त्यो ट्यागलाई हटाएर अघि बढ्नुपर्छ,’ उनले भने ।
अर्कोतिर, निर्वाचन आयोगको निर्णयको जगमा पार्टी विधानलेसमेत अध्यक्ष रञ्जिता अधिकारसम्पन्न छिन् । उनले यसअघि नै संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् ।
किचलोका बीच कार्यवाहक अध्यक्ष तोकिएका वरिष्ठ उपाध्यक्ष शिव बास्तोलाले दुवै पक्षले एकअर्कालाई जोडेर जानुको विकल्प नभएको बताए । ‘रेशम पक्षले विधानबमोजिम चलिदिए पुग्छ, पटकपटक विधानविपरीत क्रियाकलाप गरिसक्नुभयो । टीकापुर महाधिवेशन र हालैको राष्ट्रिय भेलालाई निर्वाचन आयोगले अवैधानिक भन्यो,’ बास्तोलाले भने, ‘उहाँहरुबीच व्यक्तित्वको टकराव हो । तर महाधिवेशनसम्म कुर्नुको विकल्प छैन । डेढ वर्षपछि महाधिवेशन छ । महाधिवेशनमै नेतृत्व परिवर्तन गरे भइहाल्यो नि !’
तर, रञ्जितालाई अध्यक्ष मानेर अघि बढ्न नसकिने भनिसकेको पृष्ठभूमिमा अब रेशमको समूह बेग्लै पार्टी गठन गरेर अघि बढ्नेबारे छलफलमा छ । त्यस अवस्थामा अहिलेको नाउपा विभाजन हुनेछ । त्यस क्रममा हाल रञ्जिताको विपक्षमा रहेका तीनजना प्रतिनिधिसभा सदस्यलाई पार्टी सदस्यबाट निष्कासित गर्न सक्ने, पुनः अदालतमा मुद्दा मामिला हुन सक्ने नाउपाका नेता कार्यकर्ताहरुको आकलन छ । नाउपालाई निकटबाट हेरिरहेका कृष्णराज सर्वहारी भन्छन्, ‘अब दुवै समूह पुनः एक भएर जालान् भन्ने लाग्दैन ।’
