प्रधानमन्त्रीसँग मधेशका मुख्यमन्त्रीको गुनासो, ‘प्रहरी समायोजन नहुँदा काम गर्न सकेनौं’

मधेश सरकारकै लगानीमा प्रदेश प्रहरी बनेको र यसलाई प्रहरी समायोजनपश्चात् प्रदेश प्रहरीको हेडक्वाटरसमेत बनाइने मुख्यमन्त्री सिंहले बताए ।

श्रावण ३०, २०८२

कमलेश ठाकुर

Madhesh Chief Minister's complaint to the Prime Minister, 'We could not work without police adjustment'

जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रहरी समायोजन नहुँदा प्रभावकारी रुपमा काम गर्न नसकिएको गुनासो गरेका छन् । 

मधेश प्रदेश प्रहरी कार्यालयको भवन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले संघीयताको मूलमर्मअनुसार प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम प्रभावकारी नभएको बताएका हुन् । ‘प्रहरी प्रदेश सरकारको मातहत नहुँदा व्यवस्थत रुपमा काम गर्न सकिन्,’ उनले भने, ‘प्रहरी समायोजनपश्चात् थप प्रभावकारी रुपमा प्रहरी र मधेश सरकारले काम गर्छ ।’ 

मधेश सरकारकै लगानीमा प्रदेश प्रहरी बनेको र यसलाई प्रहरी समायोजनपश्चात् प्रदेश प्रहरीको हेडक्वाटरसमेत बनाइने मुख्यमन्त्री सिंहले बताए । सरकारले मधेशलाई सुख्खाक्षेत्र घोषणा गरे पनि जनताको अपेक्षाअनुसार राहत दिन नसकेको भन्दै संघीय सरकारलाई विशेष प्याकेज उपलब्ध गराउने उनले अनुरोध गरे । ‘मधेशमा विशेष प्याकेजको आवश्यकता छ । म संघीय सरकारसँग विशेष प्याकेज माग गर्दछु,’ उनले भने, ‘चुरे जोगाउन अपिल पनि गर्न चाहन्छु ।’ सुनकोशी मरिन डाइर्भसनको काममा तीव्रता दिलाउन प्रधानमन्त्रीको मुख्यमन्त्री सिंहले ध्यानाकर्षणसमेत गराए । 

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully