रुपन्देही–३ मा उपचुनाव तयारी : मधेशवादी दल साझा उम्मेदवार बनाउने प्रयासमा, राप्रपामा बोहोराकै छोराको सम्भावना, रास्वपा उम्मेदवार छनोट गर्दै

केही स्वतन्त्र व्यक्तिहरूले भने उम्मेदवार घोषणा गरेर  प्रचारप्रसार नै सुरु गरिसकेका छन् । मुख्य दलहरू उम्मेदवार छनोटको अन्तिम कसरतमा छन् । पुराना राजनीतिक दलका लागि चुनौती बनिरहेको रास्वपाले समेत यस निर्वाचनलाई मिनी जनमतको रूपमा हेर्न थालेको छ । निर्वाचनलाई लिएर सहरका मुख्य बजारमा चुनावी चर्चा र अडकलबाजी सुरु हुन थालेको छ ।

श्रावण २८, २०८२

घनश्याम गौतम

By-election preparations in Rupandehi-3: Madhesh party trying to form common candidate, possibility of Bohora's son in RPP, RPP choosing candidate

What you should know

बुटवल — रुपन्देही–३ को रिक्त प्रतिनिधिसभा निर्वाचनका लागि कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि मुख्य राजनीतिक दलहरूको गतिविधि तीव्र बन्न थालेको छ । कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र यसअघि निर्वाचन जितेको राप्रपाले निर्वाचनलाई प्रतिष्ठा बनाउँदै थालेका छन् ।

केही स्वतन्त्र व्यक्तिहरूले भने उम्मेदवार घोषणा गरेर  प्रचारप्रसार नै सुरु गरिसकेका छन् । मुख्य दलहरू उम्मेदवार छनोटको अन्तिम कसरतमा छन् । पुराना राजनीतिक दलका लागि चुनौती बनिरहेको रास्वपाले समेत यस निर्वाचनलाई मिनी जनमतको रूपमा हेर्न थालेको छ । निर्वाचनलाई लिएर सहरका मुख्य बजारमा चुनावी चर्चा र अडकलबाजी सुरु हुन थालेको छ ।

रुपन्देही–३ को उपनिर्वाचनमा कांग्रेस, एमाले, रास्वपा र गठबन्धन बनाउन सकेको अवस्थामा मधेशीवादी दलको समेत प्रभाव राम्रो देखिन्छ । यसअघि एमालेसँगको गठबन्धनमा राप्रपाका दीपक बोहोराले चुनाव जितेका थिए । उनको निधनपछि नै यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

एमालेसँगको गठबन्धनमा जितेको विरासत जोगाउने प्रयासमा रहेको छ । तर, यस पटक राप्रपासँग मुख्य दल गठबन्धनमा जोडिने सम्भावना न्यून छ । मधेशवादी दलहरूबाट नागरिक उन्मुक्ति, जनमत, लोसपा, जसपाको प्रभाव रहे पनि जनमत र नागरिक उन्मुक्तिले छुट्टाछुट्टै उम्मेदवारी तयारीमा देखिएका छन् ।

कांग्रेसबाट पहिलो चर्चा नेता बालकृष्ण खाँणको छ । यसअघिको निर्वाचनमा खाँण राप्रपा नेता बोहरासँग पराजित भएका थिए । यस पटक उनी आफै उम्मेदवार हुने सम्भावना कम भएको कांग्रेस नेताहर बताउँछन् । खासगरी भुटानी शरणार्थी प्रकरणको मुद्दाको टुंगो नलागेकाले विकल्पमा प्रमोद यादव र रामचन्द्र ढकालको चर्चा बढी छ ।

स्रोतहरूका अनुसार कांग्रेस संस्थापन पक्षले खाँणको मुद्दा टुंगो लागेको अवस्थामा एमालेसँग समन्वय गरेर खाँणलाई नै अघि सार्ने तयारी गरिरहेको छ । खाँणसँगै उनको विकल्पमा यादव र ढकाल छन् । यादव २०७९ मा रुपन्देही–४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लसँग पराजित भएका थिए ।

त्यस्तै एमालेबाट खिमलाल भट्टराई अहिलेसम्मका बलियो उम्मेदवार हुन् । यद्यपि एमालेबाट भट्टराईसँगै शशी पौडेल र यज्ञजित शाहको नाम चर्चामा छ । भट्टराई राष्ट्रिय सभाको १८ महिना अवधि बाँकी हुँदै राजीनामा दिएर २०७९ मै रुपन्देही–५ बाट उम्मेदवार बन्न खोजेका थिए । तर, उनको स्थानमा एमालेका वासुदेव घिमिरेले पहिला नै उम्मेदवार दर्ता गरेपछि भट्टराईको उम्मेदवारी दर्ता नै हुन पाएको थिएन । त्यसैले एमालेमा अहिले उनी पहिलो दाबेदार हुन् । उनी झन्डै एक महिनादेखि नै फिल्डमा खटिएर चुनावी मत सर्वेक्षण गरिरहेका छन् । उनीसँगै पौडेल र शाह पनि बलियो उम्मेदवार हुन् । तर, अन्तिम उम्मेदवारीमा भट्टराई र पौडेल मध्ये एक जना हुने सम्भावना छ ।

यो क्षेत्र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको क्षेत्र पनि हो । २०७४ मा यही क्षेत्रमा चुनाव जितेका भुसाल गत निर्वाचनमा भने क्षेत्र नम्बर १ मा एमाले सचिव छविलाल विश्वकर्मासँग पराजित भएका थिए । केही मधेशवादी दल र माओवादीको समेत समर्थन पाएको अवस्थामा भुसाल पनि उम्मेदवार बन्न सक्ने चर्चा छ ।

त्यस्तै, मधेशवादी दलहरूले पनि यस क्षेत्रमा साझा उम्मेदवार उठाउने तयारी गरेका छन् । संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध ४ दलले गठबन्धन बनाउने प्रयासमा छन् ।

नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टीले गठबन्धनको प्रयास गरिरहेका छन् । नागरिक उन्मुक्ति पहिलो दाबेदार हो । जनमतले पनि दाबी गरेपछि सहमति जुट्न सकेको छैन । गत निर्वाचनमा समानुपातिकतर्फ नाउपाले ६ हजार १०, जसपा नेपालले ५ हजार २ सय ९१, लोसपाले ५ हजार ५३ र जनमतले ३ हजार ७ सय ३२ मत ल्याएका थिए । तर, गत निर्वाचनमा राप्रपाका दीपक बोहोराले ३६ हजार ७ सय १७ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए ।

बोहोराको निधनपछि निर्वाचन क्षेत्र गुमाएको राप्रपाले पुनः त्यसलाई फिर्ता ल्याउने रणनीति अनुसार उम्मेदवार जिल्लाबाट केन्द्रमा सिफारिस गरेको छ । जिल्ला कार्यसम्पादन समितिले जिल्ला अध्यक्ष तथा पूर्व नगरप्रमुख सागरप्रताप राणा, केन्द्रीय सदस्य वसन्तविक्रम शाही, नगर सदस्य क्याप्टेन गौरव बोहरा, जिल्ला सदस्य ई प्रज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा तथा जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलीपकुमार मल्लिकको नाम सिफारिस गरेको छ । तर, राप्रपाले दीपकको छोरा इन्जिनियर प्रज्वल बोहोरालाई अघि सार्ने अन्तिम तयारीमा छ । उनी अहिले चुनावी रणनीतिसहित क्षेत्रमै खटिएका छन् । राप्रपाका अध्यक्ष सागरप्रताप राणाले आकांक्षी धेरै भए पनि राप्रपाले जित्ने गरी उम्मेदवार बनाउन लागेको बताए ।

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीमा भने धेरै नेता आकांक्षी छन् । रास्वपाले आह्वान गरेको इच्छुक उम्मेदवारको निवेदनमा ९ जनाले आवेदन दिएका छन् । आकांक्षी ९ जनालाई रास्वपाले काठमाडौँमा बोलाएर एक जनालाई सर्वसम्मत गराउने प्रयास गरेपनि सहमति जुट्न नसकेको रास्वपाले जनाएको छ । स्रोतका अनुसार रास्वपाबाट सुलभ खरेल उम्मेदवार बन्ने सम्भावना बढी छ । उनी बुटवल उपमहानगरपालिका–१६ निवासी हुन् । अमेरिकामा बसोबास गर्दै आएका उनी चुनाव लड्नकै लागि नेपाल आएका हुन् ।

रास्वपाका सभापति रवि लामिछाने र डीपी अर्याल निकट रहेका उनले उम्मेदवार बन्ने पक्का गराएर अन्तिममा निवेदन दिएको र नामावली सार्वजनिक गर्ने क्रममा पहिलो नम्बरमा परेको चर्चा छ । रास्वपाका सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इन्चार्ज विपिन आचार्यले रास्वपाबाट ९ जना छनोट सुचीमा परेको र प्राइमरी इलेक्सनमार्फत निर्वाचित भएका उम्मेदवारको नाम भदौ १५ गते सार्वजनिक गरिने बताए । ‘उम्मेदवार छनोटका लागि रास्वपाको आन्तरिक कार्यविधि छ,’ उनले भने, ‘पहिलो चरणको छलफल सकेर कार्यविधि अनुसार उम्मेदवार छनोट प्रक्रियामा छौँ । जित्ने गरी सर्वसम्मत उम्मेदवार छनोट गछौं ।’ आचार्यले उपनिर्वाचनको नेतृत्व गरिरहेका छन् । रास्वपामा खरेलसँगै रास्वपा क्षेत्रीय सभापति मधु अर्याल, २०७९ का रास्वपाका उम्मेदवार जितबहादुर गुप्ता र महिला नेतृ ज्ञानु पौडेल पनि मुख्य आकांक्षी हुन् ।

रुपन्देही–३ मा १ लाख ३९ हजार ७ सय ६४ मतदाता छन् । त्यसलाई निर्वाचन आयोगले अपडेट गरिरहेको छ । रुपन्देही–३ मा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकालाई समेटेको छ । नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।

स्थानीय तहको परिणाम अनुसार यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । सात पालिकामध्ये कांग्रेसले माओवादीसँगको गठबन्धनमा ६ वटामा प्रमुख र २ पालिकामा उपप्रमुख जितेको छ । एमालेले १ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको छ । लोकतान्त्रिक समाजवादीले १ पालिकामा उपप्रमुख जितेको छ । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully