७० वर्षे उमेर हद र दुई कार्यकालको प्रसंग टुंगिएको भन्दै पार्टीपंति र अध्यक्ष केपी ओलीविरुद्ध विवाद सिर्जना गर्ने खेल बन्द गर्न उनले चेतावनी दिए ।
What you should know
धनकुटा — एमाले महासचिव शंकर पोखरेलले पार्टीभित्रैबाट पार्टीलाई कमजोर बनाउने खेलमा लागेको भन्दै यस्तो गतिविधिमा नलाग्न आग्रह गरेका छन् ।
धनकुटाको हिलेमा मंगलबार आयोजित एमाले कोशी प्रदेश कमिटीको सातौं पूर्णकालीन बैठक उद्घाटनका क्रममा पोखरेलले यस्तो बताएका हुन् । उक्त अवसरमा उनले सार्वजनिक रुपमा गरेका कामको टिप्पणी गर्न नहुने भन्दै पार्टीलाई कसरी मजबुत बनाउन सकिने भन्नेमा केन्द्रित हुन आग्रह गरे ।
महाधिवेशनको सन्दर्भमा अझै पनि छलफल गर्न सकिने भन्दै पार्टीपंतिमाथि हमला गर्ने खेल बन्द गर्नु पर्ने बताए । पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी र अध्यक्षभन्दा माथि भएकोले राजनीतिमा फर्कन नमिल्ने बताए ।
अर्को प्रसंगमा महासचिव पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको नारालाई राष्ट्रिय आकांक्षा मात्र नभएर गन्तव्यको रुपमा अगाडि बढाउने बताए । माओवादीले लोकतन्त्रमाथि प्रहार गर्ने भएको भन्दै उनले माओवादीसँग कहिल्यै विश्वास गर्न नसकिने उल्लेख गरे ।
यस्तै ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रसंग टुंगिएको भन्दै पार्टीपंति र अध्यक्ष केपी ओलीविरुद्ध विवाद सिर्जना गर्ने खेल बन्द गर्न उनले चेतावनी दिए । उक्त बैठक बुधबारसम्म जारी रहने छ ।
बैठकमा प्रदेशभरिका १४ जिल्लाका दुई सय प्रतिनिधिसहित तीन सय सहभागी रहेको पार्टी स्रोतले जनाएको छ । बैठकलाई पार्टी महासचिव पोखरेलसहित पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, कोशी कमिटी अध्यक्ष घनश्याम खतिवडा, पार्टी प्रदेश ईन्चार्ज शेरधन राई, कोशी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य हिक्मत खड्कालगायतले नेताले सम्बोधन गरेका थिए ।
