चन्दलाई जिम्मेवारी दिने विषय र आगामी राजनीतिक कार्यदिशा संसदीय प्रणाली कि समाजवादी क्रान्ति भन्नेमा मुख्य मतभेद ।
What you should know
काठमाडौँ — नेकपा (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग पार्टी एकता गर्ने निर्णय गरेको छ । माओवादीको स्थायी समिति बैठकले आफ्नो पार्टीभित्रको अन्तरसंघर्ष समाधान गरी नेकपासँग एकता गर्ने निर्णय गरेको हो ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएर सोमबार सम्पन्न भएकाे माओवादी स्थायी समिति बैठकले उक्त निर्णय गरेको हो । गत पुसमा भएको केन्द्रीय समितिमा पनि नेकपालगायत विचार मिल्ने दलसँग एकता गर्ने माओवादीले निर्णय गरेको थियो । तर प्रक्रिया अघि नबढेपछि चन्द नेतृत्वको नेकपाले चासो नदिएको भन्दै एकताको च्याप्टर करिब बन्द भएको नेताहरूले बताउन थालेका थिए ।
पछिल्लो समय नेकपाका महासचिव नेत्रविक्रम चन्दले अरू घटकसँग बृहत् सहकार्यका लागि छलफल सुरु गरेपछि माओवादी स्थायी समितिले एकताका लागि निर्णय गरेको हो । नेकपासँग एकता गर्ने निर्णय गरे पनि त्यसको आधार भने तयार भइसकेको छैन । माओवादी र नेकपाबीच एकताका लागि राजनीतिक, वैचारिक र सांगठनिक आधारमा सहमति गर्न पनि त्यति सहज छैन ।
नेकपाका नेतालाई जिम्मेवारीका विषयमा माओवादीमा मतभेद छ । किनकि नेकपाका महासचिव चन्दका समकालीन नेताहरू उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माबीच चर्को प्रतिस्पर्धा छ । नेकपासँग एकता भएपछि चन्द पनि त्यो प्रतिस्पर्धामा मिसिने खतरा बढ्ने माओवादी नेताहरूको आकलन छ ।
माओवादी महासचिव देव गुरुङले स्थायी समितिको निर्णय अनुसार नेकपा एकता प्रक्रिया अघि बढ्ने बताए । नेकपालगायत दलसँग पार्टी एकताका लागि छलफल सुरु भइसकेको उनले बताए । ‘एकतामा आउने घटकहरूसँग आपसी सहमतिका आधारमा अघि बढ्ने हो,’ उनले भने, ‘राजनीतिक विचार, सिद्धान्त, नेतृत्वलगायत विषयमा छलफल भएपछि एकताको आकार आउनेछ ।’
विगतमा माओवादीले पार्टी एकताका लागि रटान लगाएको भए पनि तत्काल आधार तयार भइनसकेको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए । नेकपाले राजनीतिक, वैचारिक र सांगठनिक आधार तयार भएपछि क्रान्तिकारी रूपान्तरणसहित एकता गर्नुपर्ने जनाएको छ । ‘हामीले क्रान्तिकारी रूपान्तरणसहितको पार्टी एकता हुनुपर्छ भनेका छौं,’ प्रवक्ता विश्वकर्माले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर अग्रगामी व्यवस्था र त्यही अनुसारको राजनीतिक प्रणालीका लागि पार्टी एकता गर्न चाहन्छौं ।’
२०८१ वैशाखमा भएको नेकपाको केन्द्रीय समितिले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो । महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरूले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग यसबारे छलफल गरे पनि वार्ता फलदायी बनेको थिएन । चन्दले एउटा गुटको रूपमा माओवादीसँग एकता गर्न लागेको नभई एउटा फरक पार्टीको हैसियत हुनुपर्ने प्रस्ताव गरेका थिए । माओवादीले आन्तरिक गुटबन्दीका कारण एकतामा ढिलाइ गरेको नेकपाको ठहर थियो ।
नेकपा नेता सन्तोष बुढा मगरले पार्टी एकताका लागि माओवादीले गरेको निर्णय सकारात्मक भए पनि आशंका नहटेको बताए । ‘माओवादीभित्र गुट/उपगुटको अन्त्य गरेर पार्टी एकताका लागि एउटै धारणा बनाउन आग्रह गरेका थियौं । माओवादी स्थायी समितिले एकताका लागि निर्णय गर्नु सकारात्मक छ,’ उनले भने, ‘यो सैद्धान्तिक र नीतिगत निर्णय मात्र हो । एकताका लागि धेरै चरणमा छलफल आवश्यक छ ।’
माओवादीबाट ०६९ असारमा अलग भएपछि चन्दलगायतका नेताले मोहन वैद्यको नेतृत्वमा जनविद्रोह गर्ने रणनीति अघि सारी अर्को माओवादी पार्टी बनाएका थिए । जनविद्रोहको नीति कार्यान्वयन हुन नसकेपछि चन्दले ०७१ मंसिरमा वैद्यबाट अलग हुँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका थिए । त्यसपछि अर्धसशस्त्र संघर्ष सुरु गरी चन्द लगायतको नेतृत्व भूमिगत भएको थियो ।
अवैधानिक गतिविधि गरेपछि तत्कालीन केपी शर्मा ओली सरकारले ०७५ फागुन २८ मा नेकपामाथि प्रतिबन्ध लगाएको थियो । नेकपाको हिंसात्मक गतिविधिबाट प्रहरी, शिक्षक, सर्वसाधारणलगायत ६ जनाले ज्यान गुमाएका थिए । नेकपाका १२ कार्यकर्ताको मृत्यु भएको थियो । नेकपाका १ सय बढी कार्यकर्तालाई हिंसात्मक गतिविधि गरेको अभियोगमा मुद्दा दायर गरिएको थियो । शान्तिपूर्ण प्रतिस्पर्धामा आउने प्रतिबद्धता जनाएपछि ओली सरकारले नै नेकपामाथिको प्रतिबन्ध हटाएको हो । सरकार र नेकपाबीच ०७७ फागुन २१ मा तीनबुँदे सहमति भएपछि चन्द नेतृत्वको नेकपा पनि शान्तिपूर्ण राजनीतिमा सहभागी भएको थियो ।
नेकपाको कपिलवस्तुमा बसेको केन्दीय समिति बैठकले ‘नयाँ आर्थिक मार्ग’ नीति अघि सारी कृषि, पुशपालन र व्यवसाय सुरु गरेको छ । ‘हामीले अनुसरण गरेको उत्पादन कार्य केवल नेकपालाई आत्मनिर्भर गराउनुसँग मात्र पनि सम्बन्धित छैन,’ नेकपाको निर्णयमा भनिएको छ, ‘यसको दीर्घकालिक सम्बन्ध, पुरानो आर्थिक आधारलाई भत्काउने र समाजवादी प्रकारको आर्थिक सम्बन्धको निर्माण गर्ने र आम नागरिकलाई श्रमबाट समृद्धि ल्याउन सकिन्छ भन्ने विश्वास दिनेसँग पनि सम्बन्धित छ । तसर्थ यसको महत्त्वलाई विशेष रूपले ग्रहण गर्नुपर्छ ।’
२०८२ जेठ १२ मा नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ र नेपाः पार्टीले माओवादीसँग एकता गरेका थिए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग एकता गर्ने प्रस्ताव अघि सारेका छन् । समाजवादीको २०८१ फागुनमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी निर्माणका लागि सुशासन अभियान अघि बढाउने निर्णय गर्दै माओवादीसँग तत्काल पार्टी एकता नगर्ने निर्णय गरेको थियो । तर अध्यक्ष नेपालले एकताका लागि अहिले प्रस्ताव गरेको माओवादीले जनाएको छ ।
‘माधव नेपालले पार्टी एकताको प्रस्ताव गर्नुभएको छ,’ दाहाल निकट एक नेताले भने । तर एकीकृत समाजवादीभित्र माओवादीसँग एकता गर्नेबारे मतभेद छ । महासचिव घनश्याम भुसाल माओवादीसँग तत्काल एकता गर्नुभन्दा पार्टी निर्माणका लागि राजनीतिक अभियान चलाउनुपर्ने पक्षमा छन् । समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि माओवादीसँग मिल्नुभन्दा एमालेसित सहज हुने बताउँछन् ।
नेपालले पार्टी एकताको प्रस्ताव गरे पनि माओवादी स्थायी समितिले भने चन्द नेतृत्वको नेकपासँग मात्रै एकता गर्ने औपचारिक निर्णय गरेको छ । ‘नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने निर्णय भएको छैन । बरु समाजवादी मोर्चालाई सक्रिय बनाएर पार्टी एकताको तहसम्म पुर्याउन सकिने भन्ने छ,’ माओवादी प्रवक्ता अग्नि सापकोटाले भने ।
एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले माओवादीसँग एकता गर्न पहिले समाजवादी मोर्चामा सहकार्य अघि बढाउनु पर्ने बताए । ‘समाजवादी मोर्चामा रहेका दलहरूसँग सहकार्य सघन बनाऔं भन्ने छ । सहकार्य गर्दै जाँदा एकतामा जान सकिएला,’ उनले भने, ‘अहिले त माओवादीका तर्फबाट एकता चाँडै गर्न पाए हुन्थ्यो भनेर अध्यक्ष माधव नेपालसँग कुराकानी पुगेको छ ।’
