गृहमन्त्रीको नेतृत्वमा विधेयक समितिले विवाह र बहुविवाह कानुनमा सुधार गर्न उपसमिति गठन गरी छलफल अघि बढाउँदै।
What you should know
काठमाडौँ — गृहमन्त्री रमेश लेखकले कानुनमा खराब कुरा आउँछन् भन्ने आशंका नगर्न आग्रह गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् अन्तर्गतको विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विधेयक समितिसँग मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारण सम्बन्धी कानुन गरी पाँच वटा विधेयकमा संशोधन प्रस्ताव आएको बताए ।
बहुविवाहका सम्बन्धमा आएको संशोधन व्यवस्था, विवाहको उमेर सम्बन्धी व्यवस्था, अग्रिम जमानतसम्बन्धी व्यवस्था र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने सजाय माफी, मुल्तबी वा दण्ड सजाय परिवर्तन सम्बन्धी व्यवस्थाबारे थप छलफल गरेर संशोधन–परिमार्जन गर्नुपर्ने देखिएको उनको भनाइ छ।
बैठकले बहुविवाह, विवाहको उमेर, अग्रिम जमानत र कैद–जरिवानाको मुल्तबी/माफी सम्बन्धी विषयमा थप छलफल गर्न आवश्यक देखिएकाले विधेयक समितिमै उपसमिति बनाएर अघि बढ्ने निर्णय गरेको बताए। उपसमितिले सम्बन्धित मन्त्रालयसँग राय–सल्लाह लिएर आवश्यक छलफल गरी विधेयकलाई संशोधन–परिमार्जन गर्नेछ।
गृहमन्त्री लेखकले भने, ‘बहुविवाह सम्बन्धी व्यवस्था, विवाहको उमेर, अग्रिम जमानत र कैद–जरिवानाको मुल्तबी–माफी परिवर्तनका विषयमा थप छलफल र संशोधन आवश्यक देखिएकाले हामीले विधेयक समितिमै उपसमिति बनाएका छौँ। त्यसले सम्बन्धित मन्त्रालय, कानुन मन्त्रालय, कानुन आयोग र महान्यायाधिवक्ताको उपस्थितिमा आवश्यक परिमार्जन गर्नेछ। नागरिकका बीचमा व्यक्त भएको चासो विधेयक समितिले सम्बोधन गर्नेछ। त्यसैले कानुनमा खराब कुरा आउँछन् भन्ने आशङ्का नगर्दा हुन्छ भन्ने मेरो आग्रह हो।’
गृहमन्त्री लेखकले बहुविवाहसम्बन्धी कानुनबारे आम नागरिकमा देखिएको चासो विधेयक समितिबाट सम्बोधन गरी परिमार्जन गरिने स्पष्ट पारे ।
