बागमतीका मुख्यमन्त्री बानियाँले लिए शपथ

बागमतीमा मुख्यमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन 

श्रावण २०, २०८२

प्रताप विष्ट

Bagmati Chief Minister Baniyan took oath

हेटौंडा — बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शपथ लिएका छन् । प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले मंगलबार एक समारोहबीच कांग्रेसबाट मुख्यमन्त्री बनेका बानियाँलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् । 

मुख्यमन्त्री बानियाँले मंगलबार नै ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । बानियाँ नेतृत्वको सरकारमा कांग्रेसका २ र एमालेका ६ जना मन्त्रीले शपथ लिएका छन् ।

प्रदेशमा कांगेसबाट कृष्णकुमार तामाङ र शिवराज अधिकारी मात्र मन्त्री बनेका छन् भने एमालेबाट मधुसुधन पौडेल, किरण थापा मगर, भरतबहादुर केसी, डा. दिनेशचन्द्र देवकोटा र विन्दु श्रेष्ठ मन्त्री बनेका छन् । उनीहरुलाई पनि प्रदेश प्रमुख देवकोटाले मंगलबार नै शपथग्रहण गराएका छन् । 

 Bagmati Chief Minister Baniyan took oath

कांग्रेसका तर्फबाट मन्त्री बनेका अधिकारीको मन्त्रालय पछि तोकिने जनाइएको छ भने तामाङलाई खानेपानी मन्त्रीको जिम्मेवारी दिइएको छ । 

एमालेका तर्फबाट मधुसूधन पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, डा दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, विन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य तथा भूमि प्रशासन मन्त्रालय, जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने भरतबहादुर केसीले वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका छन् । 

शपथग्रहण कार्यक्रममा सभामुख भुवन पाठक, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, मन्त्री, बागमती प्रदेशका प्रमुख सचिव भुपाल बराल, मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully