देशमा भ्रष्टाचारले सीमा नाघ्यो : अध्यक्ष श्रेष्ठ

श्रेष्ठले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै प्रत्यक्ष निर्वाचन प्रणालीले भ्रष्टाचार बढाएको टिप्पणी गर्दै मन्त्रीहरूको निर्णयप्रतिको जवाफदेहीतामा प्रश्न उठाए।

श्रावण १७, २०८२

कान्तिपुर संवाददाता

Corruption has crossed the border in the country: President Shrestha

What you should know

काठमाडौँ — जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन्। शनिबार काठमाडौँमा जनता समाजवादी पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार उन्मूलन गर्न जरुरी रहेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भ्रष्टाचारीको आँखै हेर्दिन भन्ने भनिए पनि त्यसअनुसार काम अघि बढ्न नसकेको टिप्पणी गरे।

उनले भ्रष्टाचार बढ्नुको मुख्य कारण प्रत्यक्ष निर्वाचन प्रणाली भएको बताए । करोडौँ रुपैयाँ खर्च गरेर निर्वाचन जित्ने र त्यसपछि मन्त्री, मुख्यमन्त्री, सांसद, पालिका प्रमुख, वडा अध्यक्ष भएर असुल्ने प्रवृत्तिका कारण भ्रष्टाचार मौलाइरहेको उनले बताए। मन्त्रीहरूले नीतिगत निर्णयमा हस्ताक्षर गर्ने भएकाले पनि भ्रष्टाचार बढेको उनको निष्कर्ष छ।

श्रेष्ठले भने, 'आज देशमा भ्रष्टाचारले सीमा नाघिरहेको अवस्था छ। किन भ्रष्टाचार हुन्छ, त्यो भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्छ। भ्रष्टाचारीको आँखै हेर्दिन जस्ता अनेकौँ कुरा भनिन्छ। यसको मुख्य कारण भनेको निर्वाचन प्रणाली हो। प्रत्यक्ष निर्वाचनमा करोडौँ रुपैयाँ खर्च गरेर जित्नेहरू सांसद वा मन्त्री भएपछि विभिन्न तहमा असुल्ने प्रवृत्तिले समस्या जन्माएको हो। मन्त्रीहरूले नीतिगत निर्णयमा सही गर्छन्। कार्यान्वयन कर्मचारीहरूले गर्ने भए पनि आदेश दिने मन्त्रीहरू हुन्छन्। तर भ्रष्टाचार हुँदा सचिव र सहसचिवलाई मात्र समाउने चलन छ। नेताहरूले गलत आदेश दिँदैनन् भन्ने सुनिश्चित गर्न निर्णय गर्नेले नै जबाफदेहिता लिनुपर्छ।'

उनले टेप काण्डजस्ता घटनामा नेताहरू गिरफ्तार नभएको उल्लेख गर्दै जिम्मेवारी वहन गर्ने संरचना सच्याउनुपर्नेमा जोड दिए।

अध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै अहिले ‘फलानो राजनीतिमा आउँछन् कि आउँदैनन्’ भन्नेमा बहस भइरहेको बताए। उनका अनुसार एउटा नेता परिवर्तन भए मात्र फरक नपर्ने तर एजेन्डा लिएर अघि बढ्दा सकारात्मक परिणाम आउनेछ। अहिलेको संसदीय व्यवस्थाअनुसार पूर्वराष्ट्रपति वा पूर्वउपराष्ट्रपति राजनीतिमा आउन नमिल्ने उनको भनाइ छ।

कान्तिपुर संवाददाता

Link copied successfully