एमाले–कांग्रेस सात बुँदे सहमतिलाई कम नआँक्नूस् : उपप्रधानमन्त्री सिंह

सिंहले ६ महिनामा सरकार परिवर्तनको अन्त्य गर्दै गठबन्धन सरकार अघि बढेको बताए। जनताको स्थायित्व र सुशासनको मागलाई सम्बोधन गरिने छ।

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

Do not underestimate the UML-Congress seven-point agreement: Deputy Prime Minister Singh

काठमाडौँ — उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिको महत्वलाई कम आँक्न नहुने चेतावनी दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार जनताले माग गरेको स्थायित्व, स्थिरता र सुशासन दिनका लागि बनेको बताए । सिंहले ६ महिनामै सरकार परिवर्तन हुने अस्थिरताको अन्त्य गर्दै गठबन्धन सरकार अघि बढेको उल्लेख गरे ।

उनले भने, 'हामी जनतालाई अधिकार दिन राजनीतिमा आएका हौँ। उपप्रधानमन्त्री, मन्त्री वा सांसद बन्न मात्रै पार्टीमा लागेका होइनौँ। अधिकार खोसिएको अवस्थामा पुनःवहाली गर्न ज्यान समर्पण गर्न परे पनि गर्ने संकल्पसहित राजनीतिमा होमिएका हौँ।'

सिंहले जनताको अधिकार सुरक्षित गर्नु अहिले कांग्रेस नेतृत्वको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै पार्टीलाई विधि र नियमअनुसार संस्थागत गरी व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । उनले विगतमा आन्दोलनमार्फत कांग्रेसले जनताको अधिकार पुनःवहाली गरेको स्मरण गर्दै अहिलेको चुनौती अधिकार सुरक्षित गर्ने रहेको बताए ।

सात बुँदे सहमतिबारे उनले भने, 'यो सहमति सामान्य सम्झौता होइन। राजनीतिक स्थिरता ल्याउन नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर अरू दललाई समेत समेटी यो गठबन्धन बनेको हो। नत्र त ६ महिनामै सरकार बदलिन्थ्यो र जनताले सरकार बनेदेखि दिन गन्ने अवस्था आउँथ्यो।'

सिंहले पार्टीलाई अझ सुदृढ र सक्षम बनाएर अघि लैजानुपर्ने बताउँदै कांग्रेसलाई चुनौतीसँग जुध्न सक्ने बनाउन आफू प्रतिबद्ध रहेको स्पष्ट पारे ।

कान्तिपुर संवाददाता

Link copied successfully