झारि असारे भाका हो । विशेषगरी खेतमा धान रोप्ने बेला हली–रोपारहरूले भाका मिलाएर गाउने मौलिक गीत हो । यो गीत गाउने चलन हराउँदै गएको छ ।
रुकुम पश्चिम — रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ माछिमीस्थित खेतको आलीमा बसेर स्थानीय मनसरी परियारले मौलिक झारि भाका सुनाइन् । जब उनको स्वर लहरी यहाँ गुञ्जियो, तब खेतमा गोरु नारिरहेका अनि ब्याडबाट बीउ सारिरहेकाहरू उनीतिरै सोझिए । अनि नजिकैका रोपारहरूले भाका छोप्ने प्रयास गरे । यससँगै माछिमीको असारे मेलो केहीबेर सांगितिक बन्यो ।
झारि असारे भाका हो । विशेषगरी खेतमा धान रोप्ने बेला हली–रोपारहरूले भाका मिलाएर गाउने मौलिक गीत हो । यो गीत अहिले गाउन छोडिएको छ । तर मनसरीको सम्झनामा ती स्मृतिहरू ताजै छन्, जतिबेला झारि भाकासँगै छुपुमा छुपु धान रोपिन्थ्यो । कामसँगै रमाइन्थ्यो । ‘पहिले खेत रोप्ने भनेको त एउटा पर्व जस्तै हुन्थ्यो । हलीदेखि रोपारसम्म भेला भएर झारी गाउँदै धान रोप्न कम्ता रमाइलो हुन्थेन ।’ उनले भनिन् ‘अब अहिले त हतार–हतार काम गर्ने झापझुप सकेर फर्किने हुन्छ । अब त न उस्तो झारीको रमाइलो छ, न रोपाइँको रंग ।’
झारि भाकाका गीतबारे गीतकार अरुणकुमार शाहले यो झन्डै ३ सय वर्ष पुरानो भएको तर्क गर्दै यो जुम्लाको सिंजाबाट आएको बताए । ‘धान रोप्न मेलोमा लागेका विशेषगरी महिलाहरूले यो यो भाका गाउने चलन थियो । एक जनाले अन्तरा निकाल्ने अनि अरूले त्यसैमा स्वर मिसाएर अन्तिमतिर ‘झारि...’ भन्दै गाउने गरिन्थ्यो ।’ उनी भन्छन्, ‘दिनभरि रोपिराख्नुपर्ने भएकाले थकाइ नलागोस् र समय बितेको पनि पत्तो नहोस् भन्नका लागि यो भाका गाउने चलन थियो । यसमा दोहोरी नै त हुन्थेन तर शब्दहरूमा दुःख–सुखका कुराहरु हुन्थे । लेकबेसी र मेलापातका चर्चा–परिचर्चा हुन्थे । तर यसको पुस्तान्तरण हुन सकेन र लोप हुँदै जान थाल्यो ।’
उसो त पछिल्लो समय झारि भाकासँगै खेतमा हुने धान रोपाइँको तौर–तरिकामा पनि धेरै बदलाव आएको किसान बताउँछन् । माछिमीकै वेलमती केसीले उहिले हली–रोपारदेखि गोरुको चहलपहलले खेत भरिने गरेकोमा अब भने एकातिर रोपाइँ हुने खेत घटेका छन् भने काम पनि मान्छेले भन्दा मेसिनले गर्ने बेला आएको बताइन् । ‘नाचगानमा मादल बजाउनेलाई गुरु मानेझैँ रोपाइँका बेला हलीलाई मुख्य मानिन्थ्यो, अब त आधाभन्दा धेरै काम ट्याक्टरले गर्दिन्छ । यसकारण दुःख पनि कम भएको छ । काम गर्ने युवा पनि त गाउँघरमा छैनन् ।’
रुकुम पश्चिममा कुल ३ हजार ४३ हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी दिवाकर गौतमका अनुसार गत शुक्रबारसम्म करिब ७८ प्रतिशत रोपाइँ सकिएको छ ।
जिल्लाभरमा धान रोपाइँ हुने फाँटहरुमध्ये माछिमी पनि एक हो । माछिमीकै स्थानीय गोरखबहादुर खत्रीका अनुसार यहाँ करिब ९० हेक्टर जमिन रहेकोमा अधिकांश भागमा धान रोपाइँ हुन्छ । मध्यपहाडी लोकमार्गको छेउछाउमा रहेको यो फाँटमा यो सालको रोपाई लगभग सकिएको छ । अब बिस्तारै धान हरिया हुँदै जाँदा यो ठाउँ थप सुन्दर हुँदै जान्छ ।
![The hustle and bustle of planting in the neighboring fields, accompanied by the sound of the shriveling of the trees [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/ropain-photos-7-1572026030221-1000x0.jpg&w=1001&h=0)
![The hustle and bustle of planting in the neighboring fields, accompanied by the sound of the shriveling of the trees [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/ropain-photos-10-1572026030229-1000x0.jpg&w=1001&h=0)
![The hustle and bustle of planting in the neighboring fields, accompanied by the sound of the shriveling of the trees [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/ropain-photos-14-1572026030241-1000x0.jpg&w=1001&h=0)
![The hustle and bustle of planting in the neighboring fields, accompanied by the sound of the shriveling of the trees [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/ropain-photos-13-1572026030238-1000x0.jpg&w=1001&h=0)
![The hustle and bustle of planting in the neighboring fields, accompanied by the sound of the shriveling of the trees [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/ropain-photos-12-1572026030235-1000x0.jpg&w=1001&h=0)
![The hustle and bustle of planting in the neighboring fields, accompanied by the sound of the shriveling of the trees [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/ropain-photos-11-1572026030232-1000x0.jpg&w=1001&h=0)