चितवनको दक्षिणी भेग माडी नगरपालिका–९ कृष्णनगर राईटोलमा धमाधम रोपाइँ चलिरहेको छ । कतै हल गोरुले, कतै ट्याक्टरले रोप्नका लागि खेत तयार पार्दै छन् ।
चितवन — दुई दिन लगातार पानी परेपछि आकाश सफा भएको छ । आकाश निलो मात्रै भएको हैन असारकै झल्को दिने गरेर चितवनको दक्षिणी भेग माडी नगरपालिका–९ कृष्णनगर राईटोलमा धमाधम रोपाइँ चलिरहेको छ । कतै हल गोरुले, कतै ट्याक्टरले रोप्नका लागि खेत तयार पार्दै छन् । दानबहादुर राई ठूलो कोदालो बोकेर आली आली हिलो खेततर्फ लम्कँदै थिए ।
राईटोलका ३७ वर्षीय दानबहादुरका दुई दाजु भाइले १३ कट्ठामा चैते धान रोप्ने तयारी छ । बीउ काढ्नेदेखि मुठा खेतमा पुर्याउनेहरूको आलीमा ओहोरदोहोर देखिन्थ्यो । कोही रोप्न व्यस्त थिए । बकुल्लाको बथानै आलीमा आहारा ढुकेर बसेको थियो । अन्य चराहरू पनि चारो पाउने आशाले उड्दै बस्दै गरेका देखिन्थे । आडैमा चितवन राष्ट्रिय निकुञ्जको जंगलका रुखहरू नयाँ पालुवाले ढाकिएका थिए ।
राईटोलकै ६८ वर्षीय सोमबहादुर राई केही दिनअघि रोपेर सकेका कारण घर तिरै थिए । कतै धान रोपाइँ हुँदै गरेको थियो र कतै रोपेर भ्याएका गराहरूमा धान हरियो हुँदै गरेको थियो । कुलो लाग्ने भएका कारण पहिलेदेखि नै चैते धान रोप्दै आएको सोमबहादुरले सुनाए । भरतपुरका रहेको कृषि विकास कार्यालयबाट प्राप्त विवरण अनुसार चितवनमा कुल ९ हजार १९३ हेक्टरमा चैते धान हुन्छ ।
माडी नगरपालिकामा १ हजार ९६० हेक्टरमा चैते धान रोप्ने कार्यालयका अधिकृत निर्मल पौडेलले जानकारी दिए । चितवनको पूर्वी भेगमा चैते धान बढी रोप्ने चलन छ । चितवनमा कुल ५३ हजार ४१९ मेट्रिक टन चैते धान उत्पादन हुन्छ । कार्यालयका अनुसार वर्षे धान कुल २७ हजार ३२४ हेक्टरमा खेती हुने र एक लाख ३५ हजार ५७६ मेट्रिक टन उत्पादन हुन्छ । सबै तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर ।
![Chaite paddy planting in Madi Raitol [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/chaitedhan-ko-ropainraitolmadi-9-2232026111554-1000x0.jpg&w=1001&h=0)
![Chaite paddy planting in Madi Raitol [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/chaitedhan-ko-ropainraitolmadi-6-2232026111552-1000x0.jpg&w=1001&h=0)
![Chaite paddy planting in Madi Raitol [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/chaitedhan-ko-ropainraitolmadi-8-2232026111550-1000x0.jpg&w=1001&h=0)
![Chaite paddy planting in Madi Raitol [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/chaitedhan-ko-ropainraitolmadi-12-2232026111548-1000x0.jpg&w=1001&h=0)