सौराहामा जस्तै कसरा राप्ती पुल तल रहेको बालुवाको सानो ढिस्कोमा पनि घडियालको समूह घाम ताप्दै बस्छन् ।
चितवन — सौराहा राप्ती खोलाको बगरमा गोहीहरूको बगालै बस्छन् । घाम ताप्दै गरेका गोहीहरू गन्दा आठवटा पुगे । तीमध्ये एउटा मात्रै मगर गोही थियो । अरू थिए घडियाल गोही । घडियाल अति संकटापन्न अवस्थामा पुगेको जीव हो । चितवनमा राप्ती र नारायणी नदी क्षेत्रमा यो गोही बस्ने गर्दछ । राप्तीको बगरमा ठाउँ ठाउँमा घडियाल गोहीहरूको समूह देखिन्छ ।
सौराहामा जस्तै कसरा राप्ती पुल तल रहेको बालुवाको सानो ढिस्कोमा पनि घडियालको समूह घाम ताप्दै बस्छन् । चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्षको हिउँदमा घडियाल गोहीको गणना गर्दछ । यो पटक पुसमा सार्वजनिक भएको नतिजाअनुसार राप्तीमा २३१ र नारायणी नदीमा १३५ गरेर कुल ३६६ घडियाल गोहीहरू फेला परेको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले बताए ।
घडियाल बगेको सफा पानीमा बस्ने, माछा खाने मगर गोहीभन्दा शान्त र कम आक्रमक गोही हो । नदी प्रदूषण, गिट्टी बालुवाको अनियन्त्रित उत्खनन् र माछाको संख्यामा कमी आएका कारण घडियाल संकटमा पर्दै गएको छ । घडियालले गुँड बनाएर अण्डा पार्न विशेष खालको बालुवाको बगर रोज्छ । घडियाल स्वच्छ खोला र नदीको सुचक हो भन्छन् निकुञ्जका सूचना अधिकारी अविनास थापा मगर ।
घडियाल गोही संकटमा पर्दै गएपछि संरक्षणका लागि २०३५ सालमा चितवन निकुञ्जको मुख्यालय कसरामा घडियाल गोही प्रजनन् केन्द्र खुलेको थियो । प्रजनन् केन्द्रमा प्राकृतिक बासस्थल नदी र खोलाको बगरबाट निश्चित मात्रामा अण्डा संकलन गरेर ल्याइन्छ । केन्द्रमा राखेको अण्डाबाट बच्चा निस्केर हुर्केपछि प्राकृतिक बासस्थलहरूमा लगेर छाड्दै आाएको सूचना अधिकारी थापा मगरले बताए ।
प्रजनन् केन्द्रमा हुर्केका २ हजार २ सय ७५ घडियाल गोहीहरु देशका विभिन्न नदीहरूमा लगेर छाडेको निकुञ्जले जानकारी दिएको छ । राप्तीमा १४ सयभन्दा बढी र नारायणीमा ४१९ घडियाल गोही छाडेको चितवन निकुञ्ज कार्यालयले जनाएको छ । प्रजनन् केन्द्रका १८ सयभन्दा बढी घडियालहरु नारायणी र राप्तीमा छाडे पनि ३६६ मात्रै भेटिएका छन् ।
![Gharials basking in the sun in the Rapti River [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/gharaiyal2raptibagar-9-1832026070522-1000x0.jpg&w=1001&h=0)
![Gharials basking in the sun in the Rapti River [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/gharaiyal2raptibagar-15-1832026070532-1000x0.jpg&w=1001&h=0)
![Gharials basking in the sun in the Rapti River [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/gharaiyal2raptibagar-14-1832026070531-1000x0.jpg&w=1001&h=0)
![Gharials basking in the sun in the Rapti River [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/gharaiyal2raptibagar-12-1832026070527-1000x0.jpg&w=1001&h=0)
![Gharials basking in the sun in the Rapti River [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/gharaiyal2raptibagar-10-1832026070524-1000x0.jpg&w=1001&h=0)