काकाकुलले भुइँको सर्प समाएर पञ्जामा अँठ्याउँदै टाउको तर्फबाट ज्युँदै निलेको दृश्य बुधबार बिहान क्यामेरामा कैद भएको हो ।
चितवन — क्रेस्टेड सर्पेन्ट इगललाई नेपालीमा काकाकुल भनिन्छ । यसले सिंगो सर्प सर्लक्कै निल्छ । भुइँको सर्प समाएर पञ्जामा अठ्याउँदै टाउको तर्फबाट ज्युँदै निलेको दृश्य बुधबार बिहान क्यामेरामा कैद भएको छ ।
अमलटारी पूर्वमा छन् चारवटा मध्यवर्ती सामुदायिक वन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा पर्ने अमलटारी पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य बनेको छ ।
निकुञ्ज र नारायणी नदी आडमा रहेको अमलटारी नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को डण्डा बजारबाट दक्षिणमा पर्दछ । अमलटारी आएकाहरु जिप सफारी गर्दै चारवटा मध्यवर्ती सामुदायिक वन फन्को लगाउँछन् । यो क्षेत्रमा बाघ देख्न सकिन्छ । गैंडा, चीत्तल, लगुना र मयुर जस्ता जीव जनावर पन्क्षीहरु प्रशस्तै छन् यहाँ । सर्पेन्ट इगल पनि धेरै नै छन् ।
सफारीको जिपको अघिल्लो भागमा बसेका नेचर गाइड सुदन लम्सालले सफारीबाट फर्कँदै गर्दा कृष्णसागर मध्यवर्ती सामुदायिक वनमा भुइँमा बसेको काकाकुल देखे । उनलाई लाग्यो काकाकुलले सर्प समाएको छ । जिप रोकेर हेर्न लाग्दा काकाकुल उडेर रुखमा गयो । नभन्दै उसको पञ्जाले एउटा सर्प अँठ्याएको थियो । जुन ज्युँदै थियो र चल्दै बटारिँदै गरेको थियो ।
ठूलो रुखको माथिल्लो हाँगामा बसेर काकाकुलले धेरै बेर सर्पलाई अँठ्याएरै राख्यो । सर्प चलेको चल्यै गर्यो । तर, पञ्जाबाट उम्कन सकेन । केही बेरपछि काकाकुलले टाउको तर्फबाट सर्प निल्न सुरु गर्यो । ज्यान र पुच्छर चलाउँदै गरेको सर्पलाई सार्पेन्ट इगल अर्थात् काकाकुलले सर्लक्कै निल्यो र एक पटक मज्जाले ‘आँ’ गर्यो । जंगलमा यस्तो दुर्लभ दृश्य देखाएकोमा सुदनलाई सबैले धन्यवाद दिए ।
चराका बारेमा जानकार रहेका टीका गिरी चितवन सौराहाको संस्था बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष हुन् । गिरीले मुख्य आहाराका रुपमा काकाकुलले साना ठूला खाले सर्प खाने गरेको बताए । ‘अजिङ्गरको बच्चा पनि खाएको मैले नै देखेको छु,’ गिरीले भने । काकाकुलले समात्न सक्ने सबै सर्पको सिकार गर्ने उनले बताए । साना सर्प सर्लक्क निल्छ । ठूलालाई चिरेर चुँडालेर खाने गरेको उनले बताए ।
चिल प्रजातिमा पर्ने काकाकुलले आकाशबाट परेको पानी मात्रै खाने गर्छ भन्ने भनाइ नेपाली समाजमा निकै चर्चित छ । तर, यो सत्य नभएको गिरीले बताए । उनले भने, ‘यसले खोलामा गएर पानी खाएको देखेको छु ।’ नेपालको तराई भेगमा यो चरा पाइन्छ । महाभारतको खोँचमा पनि गुँड लगाएको भेटिएको गिरीले सुनाए । काकाकुलको संख्या राम्रो छ । तर, चरा संरक्षणमा भने लगातार लाग्नु पर्दछ भन्छन् गिरी । सबै तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर
![A Kakakul easily swallowed a snake [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/sarlakkai-nilyo-sarpa-18-1832026124129-1000x0.jpg&w=1001&h=0)
![A Kakakul easily swallowed a snake [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/sarlakkai-nilyo-sarpa-1-1832026124049-1000x0.jpg&w=1001&h=0)
![A Kakakul easily swallowed a snake [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/sarlakkai-nilyo-sarpa-2-1832026124051-1000x0.jpg&w=1001&h=0)
![A Kakakul easily swallowed a snake [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/sarlakkai-nilyo-sarpa-3-1832026124053-1000x0.jpg&w=1001&h=0)
![A Kakakul easily swallowed a snake [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/sarlakkai-nilyo-sarpa-4-1832026124056-1000x0.jpg&w=1001&h=0)
![A Kakakul easily swallowed a snake [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/sarlakkai-nilyo-sarpa-5-1832026124059-1000x0.jpg&w=1001&h=0)
![A Kakakul easily swallowed a snake [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/sarlakkai-nilyo-sarpa-6-1832026124101-1000x0.jpg&w=1001&h=0)