झिरुवासस्थित काउलेडाँडाबाट अम्लिसो बगानसँगै हिमाल, पहाड र तराईको दृश्यावलोकन एकै स्थानबाट गर्न सकिन्छ ।
पाल्पा — सहरबजारमा चुनावी माहोल तात्दै छ । उम्मेदवार मतदाता भेटघाटमा व्यस्त छन् । पाल्पाको निस्दी गाउँपालिकाका किसानलाई भने नगदेबाली अम्लिसो (अम्रिसो) को कुचो संकलन गर्ने चटारो छ ।
माघको दोस्रो साता सुरु भएसँगै निजी तथा कबुलियती वनमा अम्लिसको कुचो टिप्ने, त्यसलाई सुकाउने, संकलन गर्ने र बिक्री गर्ने हतारो देखिन्छ । ‘पहिले पहिले १ सय २० रुपैयाँ किलोसम्म बिक्री गरियो,’ निस्दी–३, झिरुवासकी डिलमाया थापाले भनिन्, ‘अहिले बिचौलिया, व्यापारीहरु ४० रुपैयाँ किलोमा माग्न आएका छन् ।’ यसै वर्षको सुरुमा ५५ रुपैयाँ किलोमा माग आएको थियो । अहिले एकाएक व्यापारी तथा विचौलियाले ५०, ४५ हुँदै ४० रुपैयाँ किलोमा माग गरेको उनले बताइन् ।
झिरुवास धार्केसिंका वीरबहादुर पाटाले सोझै बिक्री गर्न नपाएर यसरी भाउ घटाएको बताए । भैरहवातिरका व्यापारी झिरुवासलगायत निस्दीमा कुचो खरिद गर्न आउँछन् । ‘हामीलाई घाटा त हुने होइन,’ उनले भने, ‘तैपनि पहिला राम्रो आम्दानी हुन्थ्यो अहिले भाउ नपाएपछि कम आम्दानी हुने भयो ।’
झिरुवासको काउलेडाँडाको एउटै क्लस्टरमा स्थानीयले ४० लाख अम्लिसो रोपेका छन् । हेर्दा इलामको चिया बगानजस्तै देखिन्छ । मित्याल, सहलकोट, ज्यामिरेमा पनि अम्लिसो निजी तथा कबुलियतमा लगाएका छन् । निस्दीकै अर्चलेको लेकडाँडामा पनि अम्लिसो बगान छ । कबुलियतीमा हुर्केपछि पछिल्लो समयमा निजीमा समेत उत्तिकै संख्यामा अम्लिसो लगाएको कबुलियती वनका अगुवा तथा काउलेडाँडा कबुलियती वन अन्तरसमूहका अध्यक्ष दमनबहादुर थापा पाटाले बताए । सहलकोट, झिरुवास, मित्याल, अर्चले, ज्यामिरेका विभिन्न स्थानमा वनमाराले भरिएका लोसेपोसे साथै निजी जग्गामा सामूहिक र व्यक्तिगत रुपमा लगाएको अम्लिसोको कुचो निकाल्ने र थन्क्याउने चटारो बढेको उनले बताए । कागज उद्योगले अम्लिसोको डाँठ लैजान्छन् भने गाईबस्तु, बाख्रापालन गर्न घाँसमा प्रयोग हुन्छ ।
निस्दीबाट मात्रै एक सिजनमा ३ करोड बढीको कुचो निकासी हुने निस्दी सब डिभिजन कार्यालयका प्रमुख नन्दप्रसाद अधिकारीले बताए । ‘पहिलेजस्तो भाउ पाउने हो भने ५ करोडभन्दा बढीको आम्दानी हुने थियो,’ उनले भने, ‘भाउ नै पाउन छाडेको छ । त्यसैले समस्या किसानले खेपेका छन् ।’ उनका अनुसार झिरुवासस्थित काउलेडाँडाको अम्लिसो हेर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । डाँडामा पुगेपछि अम्लिसोको बगानसँगै हिमाल, पहाड र तराईको दृश्यावलोकन एकै स्थानबाट गर्न सकिन्छ ।
गाउँपालिकाले पर्यटकीयस्थलको रूपमा विकास गुरुयोजना बनाएर काम अघि बढाएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए । उनका अनुसार काउलेडाँडा आन्तरिक पर्यटकको रोजाइ बनेको छ । कुनै समय वनमाराको झाडीले भरिएको काउलेडाँडामा २०६७ सालमा अम्लिसो खेती सुरु गरेपछि अहिले आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको हो ।
झिरुवासका वडाध्यक्ष नवीन्द्र थापा सोतीका अनुसार अग्लो डाँडामा रहेकाले अम्लिसोको बगानसँगै यहाँबाट तराई, हिमाल र पहाड मज्जाले देख्न पाइने भएकाले पर्यटक आउने गरेका छन् । पाल्पाका विभिन्न स्थानका साथै नवलपुर, नवलपरासी, चितवन, स्याङ्जा, तनहुँ लगायतका जिल्लाबाट समेत समूहमा भ्रमणका लागि आउने गर्छन् । वनभोजका लागिसमेत आकर्षण स्थल बनेको छ । पर्यटकीय क्षेत्र भए पनि यहाँसम्म पुग्ने सडकको सहज पहुँच नहुँदा सास्ती खेप्नुपर्छ । काउलेडाँडामा २४६ हेक्टर क्षेत्रफलमा मानवश्रमबाट लगाइएको अम्लिसो छ ।
![The lush green Kaule Hills [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/amliso-kaule-dada-4-2912026012230-1000x0.jpg&w=1001&h=0)
![The lush green Kaule Hills [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/amliso-kaule-dada-12-2912026012300-1000x0.jpg&w=1001&h=0)
![The lush green Kaule Hills [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/amliso-kaule-dada-18-2912026012327-1000x0.jpg&w=1001&h=0)
![The lush green Kaule Hills [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/amliso-kaule-dada-17-2912026012321-1000x0.jpg&w=1001&h=0)
![The lush green Kaule Hills [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/amliso-kaule-dada-16-2912026012314-1000x0.jpg&w=1001&h=0)
![The lush green Kaule Hills [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/amliso-kaule-dada-13-2912026012307-1000x0.jpg&w=1001&h=0)
![The lush green Kaule Hills [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/amliso-kaule-dada-11-2912026012255-1000x0.jpg&w=1001&h=0)