नयाँ बानेश्वरस्थित संघीय संसद् भवन भदौ २४ मा जेन-जी प्रदर्शनका क्रममा आगजनी गरिएपछि राष्ट्रिय सभाको आगामी अधिवेशनका लागि संसद् सचिवालयभित्रै बैठक बस्ने व्यवस्था गर्न लागिएको हो ।
काठमाडौँ — संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि बैठक हल निर्माणको कार्य तीव्र पारिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन भदौ २४ मा जेन-जी प्रदर्शनका क्रममा आगजनी गरिएपछि राष्ट्रिय सभाको आगामी अधिवेशनका लागि संसद् सचिवालयभित्रै बैठक बस्ने व्यवस्था गर्न लागिएको हो ।
सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन निर्माणको कार्य सम्पन्न नहुँदा संसद् सचिवालयभित्र नै राष्ट्रिय सभाको बैठक बस्ने व्यवस्था गर्न लागिएको हो । संघीय संसद् सचिवालय सिंहदरबारमा रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षलाई बिस्तार गरेर राष्ट्रिय सभा बस्ने व्यवस्था गर्न लागिएको हो । सरकारको सहरी विकास तथा भवन निर्माण विभागले राष्ट्रिय सभाको बैठक कक्ष निर्माणको कार्य गरिरहेको हो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार पुस १५ भित्र भवन निर्माण विभागलाई बैठक कक्ष निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्न भनिसकिएको छ । राष्ट्रिय सभाको बैठक बस्ने कक्षको व्यवस्था कहाँ गर्ने भनेर सुरुमा अन्योल थियो । कृषि समितिको बैठक कक्षलाई राष्ट्रिय सभाका लागि तयार पार्ने निर्णय भएपछि ठेक्का प्रक्रिया लगायतका कारणले निर्माण कार्य सुरु गर्न ढिलाइ भएको थियो । 'निर्माणको कार्य सुरु गर्न नै ढिला भयो । अहिले निर्माण कार्यप्रगति राम्रै छ,' अध्यक्ष दाहालले भने, 'बैठक हल निर्माण सम्पन्न भइसकेपछि प्रधानमन्त्री सुशीला कार्कीसँग कुरा गरेर राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउनका लागि सल्लाह गर्छु ।'
संघीय संसद् सचिवालयका सहायक प्रवक्ता उपसचिव अनन्तप्रसाद कोइरालाले पुस १५ भित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी काम भइरहेको जानकारी दिए । 'कामको प्रगतिबारे नियमित अपडेट संसद् सचिवालयका अधिकारीहरूले लिइरहनुभएको छ । सचिवालयको निगरानी र राष्ट्रिय सभा अध्यक्षज्यूको चासो रहेकाले निर्माणको कार्य तीव्र भइरहेको छ,' कोइरालाले भने ।
बैठक कक्ष निर्माण सम्पन्न भइसकेपछि माइक र क्यामेरा जडान कार्य गरिने कोइरालाले जानकारी दिए । 'भौतिक संरचना तयार भइसकेपछि माइक, क्यामेराको जडान गरिनेछ । बैठकको प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको छ । तीनवटा क्यामेरा राखिने भएको छ,' उनले भने ।
राष्ट्रिय सभाको बजेट अधिवेशन भदौ ३१ गते राति १२ बजेदेखि अन्त्य गरिएको थियो । एक अधिवेशन र अर्को अधिवेशन बीचको समय ६ महिनाभन्दा बढी नहुनुपर्ने कानुनी व्यवस्था छ । प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा राष्ट्रिय सभाको हिउँदे अधिवेशन आह्वानको तयारी भइरहेको छ । राष्ट्रिय सभा अन्तर्गतका समितिहरूको बैठक नियमित बसिरहेको भएपनि अधिवेशन भने बैठक हल नभएको कारणले आह्वान गरिएको छैन । नयाँ भवन निर्माण भइसकेपछि पुस महिनाभित्रै हिउँदे अधिवेशन आह्वान गर्ने तयारी भइरहेको बताइएको छ ।
![National Assembly meeting hall under construction at Singha Durbar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/temporarilynationalassemblyhallconstruction03-21122025030334-1000x0.jpg&w=1001&h=0)
![National Assembly meeting hall under construction at Singha Durbar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/temporarilynationalassemblyhallconstruction07-21122025031204-1000x0.jpg&w=1001&h=0)
![National Assembly meeting hall under construction at Singha Durbar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/temporarilynationalassemblyhallconstruction06-21122025031135-1000x0.jpg&w=1001&h=0)
![National Assembly meeting hall under construction at Singha Durbar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/temporarilynationalassemblyhallconstruction11-21122025030615-1000x0.jpg&w=1001&h=0)
![National Assembly meeting hall under construction at Singha Durbar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/temporarilynationalassemblyhallconstruction10-21122025030549-1000x0.jpg&w=1001&h=0)
![National Assembly meeting hall under construction at Singha Durbar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/temporarilynationalassemblyhallconstruction08-21122025030502-1000x0.jpg&w=1001&h=0)